चितवनमा कला कार्यशाला

चितवन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागको आयोजना भरतपुर महानगरपालिकाको पटिहानीमा तीनदिने लोककला गोष्ठी, कार्यशाला तथा प्रशिक्षण’ सम्पन्न भएको छ । नेपालमा प्रचलित लोककलाको प्रवद्र्धन, संरक्षण तथा विकास गर्ने लक्ष्य राखेर गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रतिष्ठानका प्राज्ञ मिथिलादेवी यादवले गरिन् ।

उनले लोककला विकासका लागि प्रतिष्ठानले विविध गतिविधि गरेको बताइन् । उनले समाजलाई समृद्ध बनाउन र मौलिक पहिचान बचाउनका लागि समेत लोककलाको विशिष्ट महत्व रहेको जिकिर गरिन् । लोककलाको विकासका लागि प्रतिष्ठानले देशका विभिन्न स्थानमा विभिन्न समुदायमा प्रचलित कलाको प्रवद्र्धन, संरक्षण तथा प्रचार प्रसारमा काम गरिरहेको प्रतिष्ठानको लोककला विभाग प्रमुख प्राज्ञ यादवले बताइन् ।

भरतपुर महानगरपालिका वडा नंं. २२ का वडाध्यक्ष विष्णुराज महत्तोले लोककला नेपालको मौलिकतामा आधारित रहेकाले यसको विकासमा स्थानीय सरकारले काम गरिरहेको सुनाए । उनले चितवनमा आदिवासी थारु समुदायले बनाउने लोककला निकै समृद्ध र वैभवशाली रहेको जिकिर गरे । उनले भने, ‘चितवन तीन आदिवासी जंगल, जनावर र थारु आदिवासीको भूमि रहेकाले यहाँको लोककलाले देशको पहिचानलाई चिनाउन सकेको छ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले लोककलाले जनस्तरको आवाजलाई व्यक्त गर्ने भनाइ व्यक्त गरे । उनले नेपालको मौलिक सम्पदाको रुपमा लोककला परापूर्वकालदेखि प्रचलनमा रहेको बताए । उनले भने, ‘चितवनमा थारु लोककलाको आधारभूमि भएकाले कार्यशाला तथा प्रशिक्षण गरिएको हो ।’ कार्यक्रममा वडासदस्य सोमबहादुर गुरुङ, थारु कल्याणकारी सभाका ठगाई महत्तो, उज्यालो घरगडी टोल सुधारका अध्यक्ष निलकण्ठ तिवारी लगायतले लोककला संरक्षण र प्रवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

सो अवसरमा कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले ‘थारु लोककलाः संरक्षणको खाँचो’ विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले नेपालमा सदियौं वर्षदेखि बसोबास गर्दै आएका थारु जातिका कलाको पहिचान, संरक्षण, प्रवद्र्धन, विकास तथा सशक्तिकरण गर्नुपर्नेमा जोड दिए । सो कार्यपत्रमाथि कलाकार प्रकाश थापाले टिप्पणी गर्दै नेपालका विभिन्न समुदायमा प्रचलित लोककलाको खोज अनुसन्धानमा प्रतिष्ठानले काम गर्नुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै, कार्यशालामा प्राज्ञ लालकाजी लामा, मिथिलादेवी यादव, तमबहादुर पुन, प्रकाश थापा, देवेन्द्र थुम्केली, दामोदर बराल, योगेश खनाल, दिनेश्वर महत्तो, वरुणबाबु घिमिरे, राजेश बराल, सुलभ पौडेल, शान्त राहाडी मगर, चेतन गौतम, विश्व श्रेष्ठ, सावित्री राना मगर, सजना बगाले, लगायत करिब डेढ दर्जन कलाकार सहभागी भएका थिए ।