काठमाडौं । स्थापनाको पच्चीस वर्ष मनाउँदै यात्रामा निस्केको सांगीतिक टोली नेपथ्यले बिहीबार भैरहवाको पक्लिहवा हाइस्कुलको प्रांगणमा प्रस्तुत गरेको छ । जतिबेला तामाङ समुदायले आफ्नो मुख्यपर्व मनाइरहेको थियो त्यतिबेलै भैरहवाको मैदानमा हिउँको वर्षात्सहित तामाङ बहुल लाङटाङ भेगबाटै संकलित गीत ‘भेडाको ऊन जस्तो’ बजिरहेको थियो । पूर्वको झापाबाट सुरु भएको नेपथ्य यात्रा पश्चिममा आइपुगेर सकिएको छ ।
‘पोखरा र पोखरेलीहरू जसरी भैरहवासँग जोडिएका छन्, नेपथ्य पनि उसैगरि जोडिएको छ,’ कन्सर्टको अघिल्लो साँझ आमा समूहले गरेको स्वागत कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘मैले बाल्यकालका महत्वपूर्ण क्षण बिताएको यो सहर अहिले पनि ब्यान्डका गितारवादक निरज गुरुङको थलो हो ।’ ब्यान्डको संघर्षकालीन क्षणमा समेत यस सहरमा कन्सर्ट गर्दाका अनुभव बोकेको नेपथ्यले पहिलो पटक खुला आकासमुनी विशाल चउरमा आफूलाई प्रस्तुत गरेको थियो । अन्यत्रझैं यहाँ पनि प्रारम्भ म्युजिक भिडियोहरू ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो ।
त्यसको लगत्तै नेपथ्य टोलीमञ्चमा प्रवेश गरेको थियो । ब्यान्डले स्टेजमा सबैभन्दा पहिले नयाँ गीत ‘कुरुप अनुहार हो’ प्रस्तुत गरेको थियो । साढे तीन दसकअघि विश्वविद्यालय पढ्न कीर्तिपुर पुगेका दुई पोखरेली तन्नेरीहरू सरुभक्तको रचना र विक्रम गुरुङको संगीतमा यो गीत तयार भएको हो । पछिल्लो समय नेपथ्यले गाउन थालेपछि चर्चित बनेको यो गीत ब्याण्डको दसौं एल्बममा समावेश छ ।
अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, लिड गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए । भैरहवाको कार्यक्रमलाई स्थानीय ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ ले आयोजना गरेको थियो ।