अमेरिकामा हतियार खरिदबिक्रीमा नयाँ रेकर्ड

न्यूर्योक(एजेन्सी) । अमेरिकामा कोरोना भाइरस संक्रमणको अनुपात तिब्र रुपमा बढिरहेको छ । यो महामारीका बीच अमेरिकी नागरिकले पछिल्लो महिना बन्दुक खरिदमा नयाँ रेकर्ड बनाएका छन् । अमेरिकी नागरिकको फायर आर्मसको पछिल्लो महिनाको यो खरिदको अनुपात २० वर्षयताकै सर्वाधिक हो । हरेक दिन बढ्दो मृत्युको आँकडा र पुरा देशमा कुनै न कुनै रुपमा लकडाउन हुँदा पनि कैयौं अमेरिकीले हतियार किन्नुलाई महत्वका साथ हेरिएको छ ।

एफबीआई(फेडरल ब्यूरो अफ इनवेस्टिगेशन)ले मार्च २०२० मा ३७ लाखको पृष्ठभूमि अध्ययन गरेको थियो । यो आँकडा सन् १९९८ पछिको सबैभन्दा ठूला पृष्ठभूमि अध्ययन हो । आँकडा अनुसार अघिल्लो वर्षको मार्चको तुलनामा यो वर्षको मार्चमा ११ लाख संख्या बढेको छ । गत मार्च २१ मै २ लाख १० हजार पृष्ठभूमि अध्ययन गरिएको थियो । यो एकदिनको सर्वाधिक ठूलो आँकडा हो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार एफबीआईको तथ्यांकले यो वर्ष मार्चमा नै २० लाख भन्दा बढी हतियार खरिद भएको छ । यो मामलामा इलिनोय प्रान्त अगाडि देखिएको छ । यहाँ मार्चमा करिब ५ लाख हतियार बिक्री भएको छ । यसपछि सूचीमा टेक्सस, केन्टुकी, फ्लोरिडा र क्यालिफोर्निया राज्य छन् । देशभर रहेका हतियार विक्रेताका अनुसार हतियार खरिद गर्न भागदौड मच्चिन थालेपछि उनीहरुको पसलमा हतियारको स्टक रहन सकेको छैन । मार्च २०२० मा हतियार बिक्रीको आँकडाले पछिल्लो ३३ लाखको रेकर्डलाई तोडेको छ । त्यो रेकर्ड सन् २०१५ डिसेम्बरको थियो ।

जर्जिया स्टेट युनिभर्सिटी ल स्कूलका प्रोफेसर टिमोथी लिन्टन अमेरिकी बन्दुक उद्योगको विशेषज्ञका रुपमा चिनिन्छन् । उनका अनुसार कोरोना भाइरसको महामारीको यो समयमा हतियार पसलबाट ठूलो मात्रामा बन्दुक बिक्री हुनु दुई कारण छन् । ‘पहिलो कारण हो, नागरिक समाज जसमा दमकल, पुलिस र स्वास्थ्य सेवा पर्दछन् । उनीहरुको अवस्था कुनै दिन पूर्ण रुपमा खराब हुन सक्छ । जसकारण कानून र व्यवस्थाको ढाँचा फेरिन पनि सक्छ’, उनी भन्छन्, ‘आम मानिसहरुलाई यदी यस्तो अवस्था आयो भने त्यसबाट जोगिनका लागि अहिलेबाट नै हतियार किनिरहेका छन् । अर्को कुरा सरकारले ठूलो तहबाट मानिसलाई निजी रुपमा हतियार राख्ने चलनलाई नियन्त्रण पनि गर्न सक्छ । त्यस्तो अवस्था नआओस् भन्नका लागि उनीहरु हतियार किन्न लालयित छन् ।’

अमेरिकाको संविधानमा मानिसलाई हतियार राख्ने अधिकार दिइएको छ । सरकारले केही राज्यका हतियार दोकानलाई एक आवश्यक कारोबारका रुपमा चालु राख्न अनुमति दिएको छ । जबकी अनिवार्य लकडाउनका कारण ९० प्रतिशत अमेरिका बन्द छ । न्यूर्योक, म्यासाचुसेट र न्यू मेक्सिकोमा पसल बन्द गरिएका छन् । तर उनीहरुलाई अनलाइन बिक्री गर्न अनुमति दिइएको छ ।

अमेरिकाको आन्तरिक राजनीतिमा बन्दुकको व्यापारले ठूलो प्रभाव राख्दछ । डेमोक्रेटिक प्रतिनिधिलाई हतियार राख्ने अधिकारमाथि अंकुश लगाउने व्यक्तिका रुपमा हेरिन्छ । अर्कोतर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उनको रिपब्लिकन पार्टीका नेताहरु हतियार अनिवार्य रुपमा राख्न पाउनुपर्ने पक्षमा वकालत गर्छन् ।