लकडाउनपछि उदाउँदै रोबोट

लण्डन(एजेन्सी) । कोरोना महामारीको चपेटा पछि मानिसहरु विश्वका लागि अर्को एक खतराका बारेमा विस्तारै भुल्दै गएका छन् । त्यो खतरा हो कोरोना भाइरसको संकटपछि विश्वमा तिब्र रुपमा हुने रोबोटको उदय । विश्लेषकहरुका अनुसार राम्रो होस् या नराम्रो जे भए पनि धेरै किसिमका कामहरुमा अब रोबोटले मान्छेको स्थान लिँदैछ । कोरोना भाइरसबाट जन्मिएको संकटले यो दिशातर्फको लक्षण देखाइसकेको छ । ‘मानिसहरु प्राय आफ्नो कुनै गतिविधिमा एक मान्छेको आवश्यकता महशुस गर्छन्, तर कोभिड १९ को असरले यो अवस्थालाई परिवर्तन ल्याउने सम्भावना धेरै छ’, भविष्यवेत्ता मार्टिन फोर्ड भन्छन् ।

फोर्डका अनुसार कोरोनको असरले उपभोक्ताको प्राथमिकतामा बद्लाव आउन लागेको छ र यसले अटोमेसनका लागि अवसर खोल्ने माध्यम पनि बनाएको छ । साना ठूला सबै कम्पनीहरु सामाजिक दुरीको पालना गर्नका लागि रोबोटलाई प्रयोग गरिरहेका छन् । उनीहरुले कर्मचारीको संख्यामा पनि कम गरिरहेका छन् । अमेरिकाको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्ट आफ्नो भुइँ सफा गर्नका लागि रोबोटको प्रयोग गरिरहेको छ । दक्षिण कोरियामा तापक्रम लिन र सेनिटाइजर बाँड्नका लागि रोबोटकै प्रयोग गरिएको छ । स्वास्थ्यविज्ञहरुले सन् २०२१ सम्ममा काम गर्ने स्थानमा सामाजिक दुरी आवश्यक पर्ने बताइसकेका छन् । यस्तो अवस्था आयो भने रोबोटको माग पनि पक्कै बढ्छ । अहिले कोरोनाको महामारीले गर्दा सरसफाई र सेनिटाइज गर्ने उत्पादन बनाउने कम्पनीको माग बढेको छ । अल्ट्रावायलेट लाइटवाला रोबोट बनाउने डेनमार्कको कम्पनी यूवीडी रोबोटले चीन र यूरोपमा सयौं रोबोट मेसिन पठाइसकेको छ ।

किराना पसल र रेष्टुरेन्ट होम डेलिभरीका लागि रोबोटको प्रयोग गरिरहेका छन् । विश्लेषकका अनुसार लकडाउन बिस्तारै हट्दै गएपछि बजार खुलेको अवस्थामा मानिसहरुले रोबोटको प्रयोग बढेको देख्न सकिनेछ । यस्तो समयमा विद्यालय तथा कलेजको सफाई पनि रोबोटले नै गरेको देखेमा कुनै आश्चर्य नमान्नुपर्ने विश्लेषकहरु बताउँछन् ।  द कस्टमर अफ द फ्यूचरका लेखक ब्लेक मोर्गन ग्राहक आफ्नो सुरक्षामा बढी ध्यान दिइरहेको र उनीहरु काम गर्ने व्यक्तिको स्वास्थ्यका बारेमा पनि सोचिरहेको बताउँछन् । त्यस्तो अवस्थामा अटोमेसिन सबैलाई स्वस्थ्य राख्ने र ग्राहकले यस्तो काम गर्ने कम्पनीको सराहना गर्ने दाबी ब्लेकको छ । मोर्गन अटोमेसिनले रिटेल मार्केटमा मानिसको भूमिकालाई कम गरे पनि सबै स्थानमा रोबोटको भूमिका उत्तिकै प्रभावकारी नहुने तर्क राख्छन् ।

खाद्य सेवा यस्तै एउटा क्षेत्र हो, जहाँ स्वास्थयसँग जोडिएको चिन्ताका कारण रोबोटको प्रयोग बढ्ने सम्भावना छ । म्याकडोनाल्ड जस्तो खाद्य कम्पनी खाना पकाउने र त्यसलाई पु¥याउने विषयमा रोबोटको प्रयोगको परीक्षण गरिरहेका छन् । अमेजन र वालमार्टको गोदाममा पहिलेदेखि नै रोबोटको प्रयोग गरिँदै आएको छ । अहिले कोरोनाका कारण दुबै कम्पनीले सामानको प्याकेजिङ गर्न र त्यसलाई पठाउन रोबोटको प्रयोगबारे विचार गरिरहेका छन् । यसले गर्दा गोदाममा काम गर्ने मानिसहरुले सामाजिक दुरी कायम हुन नसकेको गुनासोलाई रोबोटले पूर्ति गर्नेमा कम्पनीहरु आशावादी छन् ।

तर विशेषज्ञहरुले रोबोटको प्रयोगले कैयौं मानिस बेरोजगार हुनेमा चिन्ता व्यक्त गरेका छन् । रोबोटले एकपटक कामदारको स्थान लिएर सफलता हासिल गरेमा कम्पनीले रोबोटको स्थानमा अन्य कोहीलाई राख्ने सम्भावना सायदै नहुनेमा चिन्ता व्यक्त गरेका हुन् । रोबोटलाई बनाउन र त्यसलाई व्यापारिक प्रयोगमा लैजान खर्च धेरै नै हुन्छ, तर, रोबोट तयार भएपछि र उसले काम गर्न थालेपछि रोबोट मानव श्रमभन्दा पक्कै सस्तो हुनेछ ।

रोबोटले कम्पनीहरुले विद्यालयमा पढाउने शिक्षक, फिटनेस ट्रेनर र वित्तिय मामलामा सल्लाह दिने व्यक्तिको स्थान लिने गरी काम गराउने तयारी भइरहेको छ । प्रविधि क्षेत्रको ठूला कम्पनीहरुमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दो छ । फेसबुक र गुगल जस्ता कम्पनीमा पनि कुनै गलत पोस्टलाई हटाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्सको सहारा लिइरहेका छन् । रोबोटको सम्भावनालाई लिएर आशंका व्यक्त गर्ने मानिसहरुले लकडाउनका कारण मानिसहरु घरमा नै बसिरहेको र उनीहरुले हरेक सामान घरमा नै मगाईरहँदा मानिसको स्थानमा रोबोट हुन सक्ने सम्भावनालाई नकार्न सक्दैनन् । विशेष मेककिन्सीले सन् २०१७ मा बनाएको एक रिपोर्टमा अमेरिकाका एक तिहाई कामदारले २०३० सम्म अटोमेसिन र रोबोटका कारण आफ्नो जागिर गुमाउने उल्लेख गरेका थिए ।