एरिकले यसरी बनाए जूम

बेइजिङ(एजेन्सी) । केही हप्ता अघिसम्म उनको नाम सायदै त कसैले सुनेको थिएन । अहिले पनि कमैले मात्र सुनेका होलान् । तर लकडाउनको यो समयमा तपाईंहरुले उनको माध्यमबाट तपाईंको साथीसँग कुरा गर्न सक्नुभएको हुनसक्छ । भिडियो कन्फ्रेन्सिङ कम्पनी ‘जूम’का संस्थापक एरिक युआन जिन्दगीमा पहिलोपटक ‘फोब्र्स’ पत्रिकाको अरबपतिको सूचीमा समेटिएका छन् । पत्रिकाका अनुसार एरिकको सम्पत्ति ७ दशमलब ८ अर्ब डलर छ । खनिज इन्जिनियरका छोरा एरिकको जन्म चीनको सानडोङ प्रान्तमा भएको थियो । चीनमा इन्जिनियरिङको अध्ययन, फेरि जापानमा चार वर्षको जागिर र त्यहाँबाट अमेरिका । उनको जिन्दगी यसरी नै चल्यो ।

एरिकको जिन्दगीमा अझै अन्य उज्यालो भविष्य आउने नै थियो । तर एरिकका लागि यो यात्रा धेरै सजिलो भने थिएन । उनी बिल गेट्सबाट प्रभावित थिए, विश्वकै धनी मुलुकमा पुग्न चाहन्थे । ९० को दशकमा क्यालिफोर्नियामा फैलिइरहेको टेक्नोलोजी कम्पनीको लहरमा उनी सहभागी हुन चाहन्थे । तर त्यहाँ कोही पनि ढोकामा उभिएर एरिकलाई अंगाल्न हात फिजाइरहेको थिएन । अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनु अघि उनको आठ पटक भिषा आवेदन अस्वीकृत भएको थियो । तर तमाम चुनौतिका बाबजूद उनी सन् १९९७ मा २७ वर्षको उमेरमा एक नयाँ जिन्दगी शुरु गर्न सिलिकन भ्याली पुगे । उनमा अंग्रेजी बोलाई कम थियो, तर उनलाई आफ्नो सिप प्राप्त गर्न धेरै समय लागेन । टेक्नोलोजी फर्म वेबएक्सम उनले प्रोग्रामरको रुपमा यात्रा शुरु गरे । दशकपछि वेबएक्सलाई अर्को ठूलो कम्पनी सिस्को सिस्टमले किन्यो । यहाँ एरिक इन्जिनियरिङ विभागका प्रमुख भए ।

सन् २०११ मा उनले सिस्कोका अधिकारीहरुलाई एक यस्तो भिडियो कम्फ्रेन्सिङ एपको विकास गर्ने विचार दिए, जुन केवल डेस्कटप र ट्याबलेटबाट मात्र होइन, मोबाइलबाट पनि कुरा गर्न सकियोस् । सिस्कोले एरिकको यो विचारलाई अस्वीकार गरिदियो । तर एरिक त्यसै रोकिएनन् । उनले आफ्नो व्यापार ‘जूम’ शुरु गर्नका लागि सिस्कोबाट राजीनामा दिए । अनलाइन पब्लिसिङ प्लेटफर्म मिडियमलाई दिएको एक अन्तरवार्तामा जूमको विकासको बारेमा कुराकानी गरेका छन् । ‘जब मैले पहिलोपटक जूमको कल्पना गरेको थिएँ, त्यो बेला म चीनको एक युनिभर्सिटीमा थिएँ । आफ्नो प्रेमिकासँग भेट गर्नका लागि मलाई प्रायः दश घण्टाको ट्रेन यात्रा गर्नुपथ्र्यो । उनी अहिले मेरी पत्नी छिन्,’ उनले भनेका छन्, ‘मलाई त्यति लामो यात्रा गर्न मनपर्दैन थियो । म बिना कुनै यात्रा आफ्नी प्रेमिकासँग मिल्ने कुनै तरिका छ भनेर सोच्दथें । यो त्यही सपना थियो, जुनमा रहेर जुमको सिर्जना गरियो ।’

तर आफ्नो प्रोजेक्टका लागि पैसा जुटाउन उनलाई कम चुनौतीपूर्ण थिएन । सिस्को छोडेपछि आफ्नो प्रोजेक्टमा भरोसा राख्ने लगानीकर्ता खोज्नु उनका लागि थप मुस्किलको काम थियो । तर लगानीकर्ताले अहिलेको समयमा यस्तो काममा धेरै स्कोप नभएको र नयाँका लागि स्थान पनि नभएको भन्दै लगानी नगर्ने बचन दिए । फाइनान्सियल टाइम्सका अनुसार एरिकले यो कामका लागि आफ्नो साथी र परिवारबाट ऋण लिए । ‘यदी तपाईंलाई कुनै व्यापार शुरु गर्नुछ भने त्यसको समय महत्वपूर्ण हुन्छ । स्मार्टफोन र क्लाउट स्टोरेज कम्पनीको विस्तारले जूम जस्तो उत्पादनका लागि अनुकूल परिस्थिति सर्जना गरिदिएको थियो’, उनले भनेका छन्’, उनले भनेका छन् ।

फोब्र्स पत्रिकासँगको कुराकानीमा एरिकले आफ्नो कामप्रति पत्नी पनि आश्वस्त हुन नसकेको बताएका छन् । ‘तर मैले उनलाई यो एउटा लामो र समस्याले भरिएको यात्रा हो । जुन मलाई थाहा थियो । तर यदि मैले यो कोशिस गरिनँ भने मलाई यसको पछुतो हुनेछ’, एरिकले भनेका छन् । यसरी प्रेमिकासँग भेट गर्नका लागि गरिएको ट्रेन यात्राले एउटा यस्तो प्लेटफर्म बनाउने बाटो निर्माण गरिदियो, जुन आज लामो दुरीको व्यापारिक बैठकलाई मोबाइल या कम्प्यूटरको स्क्रिनले पुरा गरिदिएको छ ।
गत वर्ष अप्रिलमा नेस्डेकमा सूचीबद्ध हुनुअघि जूमको कारोबार विस्तारै बढ्दै थियो । नेस्डेकमा जूमको लिस्टिङ पनि सफल भएको थियो । क्लाउड सफ्टवेयर विधामा जूम सबैभन्दा राम्रो प्रदर्शन गर्ने कम्पनीमध्ये एक थियो । सेप्टेम्बरमा जब यो क्षेत्र संघर्ष गरिरहेको थियो, त्यो बेला पनि जूमको अवस्था राम्रै थियो । डिसेम्बरसम्म सबैकुरा सामान्य नै चलिरहेको थियो । तर यी सबै कुरा अप्रत्याशित रुपमा परिवर्तन भयो, जतिबेला विश्वमा कोरोना भाइरसको महामारी शुरु भयो ।

जब विश्वको वित्तिय बजार डुबिरहेको थियो, त्यो बेला जूमको शेयर १४ प्रतिशतको दरले बढिरहेको थियो । डिसेम्बरसम्म जूममा दैनिक एक करोड प्रयोगकर्ता आउथे । मार्चसम्म यो संख्या बढेर २० करोड पुगेको छ । कम्पनीको आँकडा अनुसार अप्रिलको हालसम्म यो सख्ंया ३० करोड पुगिसकेको छ ।  पछिल्लो तीन महिनामा एरिकको आर्थिक हैसित चार अर्ब डलरले बढेको छ । किनकी लगभग पुरै विश्वमा लकडाउन लागू गरिएको छ र यो अवस्थामा मानिसहरुलाई एकापसमा कुरा गर्न प्लेटफर्म चाहिएको छ । लकडाउनको समयमा व्यापारिक मिटिङ या अन्य कुनै उद्देश्यको लागि कुराकानी गर्न माइक्रोसफ्टको स्काइप र गुगल ह्याङआउट जस्ता प्रविधि पहिले नै थिए । तर यी सबै हुँदा हुँदै पनि जूमले जबरजस्त प्रदर्शन गरिरहेको छ ।

प्रविधि क्षेत्रसँग जानकारका अनुसार जूमले बजार लिनुमा यसलाई सजिलो गरी प्रयोग गरिनु हो । यसमा युजर रजिस्टर गर्नुपर्दैन । एक कल कन्फ्रेन्समा ४० मिनेटसम्म सय मानिस एकसाथ कुरा गर्नसक्छन् । जुन निःशुल्क छ । तर यो प्रयोग गर्न जति सजिलो छ, यसको डाटा सुरक्षा र गोपनियताका लागि उत्तिकै खतरनाक मानिएको छ । जूमको शुरुवाती कल्पना एक व्यापारिक मिटिङको रुपमा गरिएको थियो, तर अब सबै मानिसहरुलाई यसलाई ठूलो रुपमा प्रयोग गरिरहेका छन् । कम्पनीमा ह्याकिङ आक्रमण बढेको छ र विश्वका अगाडि जूमको प्रयोग जोखिमपूर्ण हुनसक्छ भन्ने संकेत पनि दिइसकेको छ ।