मास्क र पन्जाले समुन्द्री जीव असुरक्षित

मुम्बई(एजेन्सी) । हालका दिनमा विश्वभर कोरोना भाइरसको संक्रमणले मानिसहरु दुःखित छन् । यसबाट बच्नका लागि विश्वभर मास्क, पन्जा र सेनिटाइजरको प्रयोग भइरहेको छ । कैयौं स्थानमा यसको एकपटक मात्र प्रयोग गरिएको छ । त्यसपछि त्यसलाई यताउता फ्याक्ने गरिन्छ । भारतबाहेक विश्वका अन्य देशका मानिसहरुले पनि यही शैलीलाई अपनाइरहेका छन् ।

मानिसहरु एक पटक मास्क लगाएपछि त्यसलाई सुरक्षित तरिकाले डिस्पोज गर्दैनन् । जसकारण अन्य संक्रमण फैलिने सम्भावना पनि उत्तिकै रहन्छ । विश्वका विभिन्न मुलुकमा प्लाष्टिकजन्य फोहोरले पहिलेदेखि नै समस्या दिइरहेको छ । अब यसमा मास्क र पन्जा पनि अर्को समस्याको रुपमा देखिएको छ । ग्रीस, न्यूयोर्क र लण्डनजस्ता अति विकसित स्थानका सडकमा अहिले प्लास्टिकजन्य फोहोरको समस्या जहीतही देखिन्छ । हङकङबाट केही किलोमिटर पर रहेको सोको द्विपमा पनि प्लास्टिकको फोहोर पुगिसकेको छ । यी द्वीपमा कोही मानव बस्दैन । तर पनि त्यहाँ फोहोर देखिएका छन् । यी सबै स्थानमा अनेक किसिमका एनजिओ कार्यरत छन् ।

सोको द्वीपमा काम गर्दै आएका पर्यावरण संरक्षण समूह ओशेन्सएशियाका गेरी स्टोक्सले द्वीपको तीनपटक निरिक्षण गरेका थिए । त्यो निरिक्षणमा उनले द्वीपको किनारमा सय वटा मास्क फेला पारेका थिए । ‘यस्तो सुनसान स्थानमा यती धेरै मास्क यसअघि कहिल्यै पनि भेटिएको थिएन । यी मास्क हङकङ या चीनबाट बगेर आएको हुनसक्छ । यी दुई देशमा मास्कको चलन शुरु भएको ७ देखि ८ हप्ता मात्र भएको थियो ।’ उनले भनेका छन् ।

हालका दिनमा एकल प्रयोग भएका प्लास्टिकका मास्क, पन्जा, सेनिटाइजरको बोतल र पीपीई डाक्टर र मेडिकल स्टाफका अलावा आम मानिसहरुले ठूलो मात्रामा प्रयोग गरिरहेका छन् । तर त्यसलाई डिस्पोज गर्ने उत्तम व्यवस्था हुन सकेको छैन । जसकारण पर्यावरणमा चासो राख्नेहरु चिन्तित बनेका छन् ।  ग्रीस जस्तो स्थानमा फोहोरलाई सही रुपमा व्यवस्थापन गर्नका लागि पहिलादेखि नै केही पहल गरिएको छैन । समुन्द्री जीवका अध्ययनकर्ता र ग्रीसका आर्किपेलागोज इन्स्टीट्यूट अफ मरीन कन्जर्वेशनका रिसर्च निर्देशक अनेस्तेसिया मिलिऊ मास्क र पन्जालगायतका फोहोरलाई सडकमा फ्याक्दा वर्षातको पानीले त्यसलाई समुन्द्रमा पु¥याउने बताउछन् ।

स्टोक्स हङकङबाट पनि दोस्रो तरिकाले मास्क समुद्रमा पुगिरहेको बताउँछन् । ‘कहिले मानिसको गोजीबाट गल्तीले झरेर त कहिले कहिले फोहोरको डिब्बाबाट उडेर मास्क पानीमा पुग्छ । हङकङको पानीमा गुलाबी डल्फिन र हरिया कछुवा पाइन्छ । तर पानीमा लामो समयसम्म प्लास्टिक रह्यो भने पानीमा एल्गी र किटाणु देखिन्छ ।’ उनले भनेका छन् ।