लकडाउनमा मदिरा सेवनको मात्रा अधिक

लण्डन(एजेन्सी) । जब भारतमा लकडाउनका बीच मदिरा पसल खुल्यो, त्यहाँ मानिसहरुको भीड नै लाग्यो । उनीहरुको भीड हेर्दा लाग्थ्यो, उनीहरु श्वास रोकेर, मुटु थामेर यो समयको प्रतिक्षा गरिरहेका थिए । मदिरा पसल बाहिर न त कोरोना भाइरसको डर थियो, न त सामाजिक दुरीको वास्ता ।  भारतमा मात्र होइन, लकडाउनको समयमा अन्य देशमा पनि मदिराको खरिदबिक्री ह्वात्तै बढेको छ । मार्चमा महिनामा ब्रिटेनमा मदिरा बिक्री २२ प्रतिशतले बढेको छ । जबकी अमेरिकामा यसको बिक्री प्रतिशत ५५ छ । सामाजिक सन्जालमा मदिराको बारेमा बनाइएको मीमको बाढी नै आएको छ । यो आम मानिसका लागि सामूहिक चिन्ताको विषय पनि हो ।

आम मानिसहरु घरमै बन्धक झैं छन् । यो बेला मदिरा उनीहरुको साथी बनेको छ । विश्वभरी नै मदिराको खपत बढेको छ । मदिराको विषयमा पुस्तक लेखेका लेखक एनी ग्रेस मदिरा मानिसको शरीर भित्र जाँदा उनीहरुले राहतको अनुभव गर्ने बताउँछन् । उनका अनुसार मदिराले मानिसमा वरपरको तनाव भगाउने र दिमागलाई रिल्याक्स बनाउने काम गर्छ । ‘तर यो समयमा भर पर्छ । बीसदेखि तीस मिनेटभित्र हाम्रो शरीरले मदिरालाई बाहिर फ्याल्न शुरु गर्छ । जसकारण हामीलाई मदिरा अझ पिउन मन लाग्छ । वास्तवमा मदिराले हाम्रो शरीरको महत्वपूर्ण अंग र दिमागमा असर पार्छ । सन्देशलाई आदानप्रदान गर्ने न्यूरोट्रान्समिटर मदिराबाट प्रभावित हुन्छ’ उनले भनेका छन् ।

मदिराले शरीरमा काम गर्ने गति सुस्त हुन्छ । त्यसकारण मानिसहरु मदिरा पिएपछि आरामको अनुभव गर्छन् । मदिरा शरीरमा गएपछि डोपामाइन नामको हर्मोन निस्कन्छ, जसले हाम्रो भित्री शरीरमा अझ मदिराको चाहना राख्छ । अष्ट्रेलियाको ड्रग एण्ड अल्कोहल रिसर्च सेन्टरका माइकल फेरेल मानिसहरु तनावलाई भगाउन मदिरा पिउने भनेपनि मदिराले अझ तनाव बढाउने गरेको बताउँछन् । मदिरा पिउने कुरा लकडाउनमा मात्र सीमित छैन । विश्वमा यस्ता मानिस पनि छन्, जो आफ्नो हौसला बढाउन मदिरा पिउँछन् । मदिरा पिएपछि उनीहरु आफूमा शक्ति आएको महशुस गर्छन् । त्यसकारण पनि लकडाउनका कारण घरमा बन्धक बनेका मानिसहरु बढी मदिरा पिउँछन्, किनकी उनीहरुको काम गर्ने समय तालिका बिग्रिएको छ ।

मनोविज्ञानका अनुसार मानिसहरु आफ्नो कुरा वा व्यवहारलाई सही ठहराउन वरपरका मानिसमा त्यस्तै व्यवहार खोज्दछन् । जुनकुरा मदिराको लतमा पनि लागु हुन्छ । यस्तो अवस्थामा एक वा दुई पेग पिउने मानिसहरु पनि वरपर मदिराको बढ्दो खपतलाई मध्यनजर गर्दै अधिक मदिरा पिउनुलाई सही ठान्दछन् । मदिरा पिउँदा मानिसको शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसकारण बाहिरी रोगहरुले मानिसलाई सजिलै आक्रमण गर्न सक्छन् । इटलीमा हालै गरिएको एक अध्ययनले औसत मात्रामा मदिरा पिउँदा पनि कोभिड–१९ को संक्रमणको जोखिम हुन्छ । किनकी जो मानिसमा मदिराको आदत हुन्छ, उसको फोक्सोले सही ढंगले काम गर्दैन । विश्व स्वास्थ्य संगठनले पनि एक निर्देशिका जारी गर्दै प्रतिरोधात्मक क्षमता बचाउनका लागि मदिराबाट टाढा रहनु भनेको छ ।