शिशुको कपाल मुण्डनको भित्री रहस्य

काठमाडौं । हिन्दु धर्ममा कपाल मुण्डनको एउटा विधिविधान छ । यो सोह्र प्रमुख संस्कारमध्ये आठौं संस्कारमा पर्दछ । यो संस्कारमा बच्चाको टाउकोको कपाल हटाइन्छ । यो संस्कार जन्मिएको एक वर्षपछि गरिन्छ । यसलाई चूडाकर्म पनि भनिन्छ । यो संस्कारभन्दा अघि अन्नप्राशन गरिन्छ । जसमा शिशुलाई अन्न खुवाइन्छ । यो संस्कारलाई लिएर मानिसको मनमा के यो सबै काम गर्न जरुरी छ ? भनेर प्रश्न पैदा भइरहेको हुन्छ । तर कपाल मुण्डनको वैज्ञानिक(शारीरिक) र धार्मिक कारण छ ।

चिकित्सकहरु शिशुलाई बिहान–बिहान नांगै बसाउन वा सुताउन सल्लाह दिन्छन् । जसकारण शिशुलाई भिटामिन डी प्राप्त हुने र त्यो भिटामिन डी शरीरका लागि अत्यावश्यक रहेको उनीहरुको भनाइ छ । उनीहरु शिशुको शिरको कपाल हटाएमा त्यहाँ भिटामिन डीको मात्रा अधिक प्राप्त हुने बताउँछन् । यसका अलावा मुण्डन गर्दा कपालको विकास सही ढंगले पनि हुने गर्दछ ।

हिन्दु धर्ममा ८४ लाख योनिहरु पछि आत्मालाई मानव तन प्राप्त हुन्छ भन्ने मान्यता छ । यी प्रत्येक योनीको मानव जन्ममा आफ्नो प्रभाव पर्दछ । यी प्रभावबाट शिशुलाई बचाउनका लागि मुण्डन गरिन्छ । यो संस्कार अपनाउदा शिशुलाई पूर्व जन्मको योनिहरुबाट मुक्ति मिल्दछ र शिशुको शरीर शुद्ध हुने विश्वास गरिन्छ । यसबाहेक मुण्डन गर्दा शिशुको मस्तिष्कको विकास सही ढंगले हुने विश्वास पनि छ ।
–एजेन्सीको सहयोगमा