‘कला शिक्षालाई सरल दक्ष बनाउनुपर्छ’

काठमाडौं । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को नियमित कार्यक्रम ‘कलाका कुरा’ को ३९ औँ शृंखलामा ‘कला शिक्षाको अवस्था र चुनौती’ विषयक बहसमा कला शिक्षालाई माटो सुहाउँदो बनाउन ध्यान दिनुपर्नेमा जोड दिइएको छ । बहसमा काठमाडौं विश्वविद्यालय कलाका विभागका सहप्राध्यापक सुजन चित्रकार तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस ललितकला क्याम्पसका प्रमुख डा.रमेश पोखरेलले नेपालमा कला शिक्षालाई समयापेक्षसँगै प्रविधिमैत्री बनाउनुपर्नेमा औल्याउदै नेपालको कला शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाका बारेमा आ–आफ्ना धारणा राखेका थिए । अनलाइनमार्फत गरिएको उक्त बहसमा उनीहरुले समय सान्दर्भिक रुपमा विश्वविद्यालयले कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे ।

डा. पोखरेलले पछिल्लो परिस्थितिलाई ध्यान दिई आगामी दिनमा पठनपाठन बनाउनुपर्ने चुनौती थपिएको बताए । ‘कोरोना भाइरसका कारण लगाइएको लकडाउनले कला विषय अध्यापनको पाटो निकै चुनौतीपूर्ण बनेको छ । प्राक्टिकल विषय भएकाले यसलाई कसरी अनलाइन तथा अन्य माध्यमबाट अध्यापन गराउने भन्ने बारेमा हामीहरु छलफलमै छौं ।’ उनले भने ।

त्यस्तै, सह–प्राध्यापक चित्रकारले कला शिक्षा समयापेक्ष हुनुपर्ने भनाइ राख्दै नेपालमा कला शिक्षालाई जटिल नबनाई सरल दक्ष बनाउनुपर्ने बताए । उनले कला शिक्षालाई पहिलेको जस्तो जटिल नबनाइ सहज र व्यवहारिक बनाउनुपर्ने धारणा व्यक्त गरे । ‘अब कला शिक्षकभन्दा पनि फेसिलेटरका रुपमा विद्यार्थी उनीहरुको रुचिलाई मार्गनिर्देशन गर्नुपर्दछ ।’ उनले भने । सह–प्राध्यापक चित्रकारले काठमाडौं विश्वविद्यालयले दक्षिण एसियाली कला त्यसमा पनि नेपाली कलाका विविध शैली र धारालाई बढी जोड दिएको सुनाए ।

नेपालमा कला शिक्षाका बारेमा खासै बहस नभइरहेका बेला समाजले बहसको थालनी गरेको अध्यक्ष केशवराज खनालले बताए । उनले कला शिक्षालाई विद्यालय तहदेखि लागु गर्न सकिए त्यसले नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण सघाउँ पु¥याउने जिकिर गरे । समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा भएको सो कार्यक्रमलाई आर्ट नेपाल र प्रोसी सोलुसनले प्राविधिक सहयोग गरेका थिए ।