भर्चुअल ट्यालेन्ट हण्टमा छ विजयी

काठमाडौं । भर्चुअल माध्यमबाट गरिएको ‘ट्यालेण्ट हण्ट २०२०’ को नतिजा सार्वजनिक गरिएको छ । कोरोना महामारी र लकडाउनको अवस्थामा युवायुवतीमा रहेको प्रतिभालाई प्रस्फूटन गर्ने लक्ष्यका साथ टिम सोचले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।  नृत्य, साहित्य, गायन, चित्रकला, डिजिटल निर्माण तथा विविध गरी छ विधामा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा चार सयजनाको सहभागिता रहेको थियो । जसमा गायनतर्फ अनमोल आचार्य, नृत्यतर्फ मनिता गहतराज, साहित्यतर्फ शिक्षा शिवाकोटी, चित्रकलातर्फ सुशान महर्जन, डिजिटल निर्माणतर्फ पुजा ताम्स तथा विविधतर्फ आजाद खड्का विजयी घोषित भएका थिए ।

२० चैतबाट सुरु भएको यो कार्यक्रम वैशाख २५ मा टुंगिएको टिम सोचका नविन गिरीले जानकारी दिए । उनले भने, ‘सिङ्गो विश्व कोरोनाको महामारीबाट ग्रस्त भएको यस असमान्य परिस्थितिमा मानवजातिमा नयाँ चुनौती थपिएको छ । यस्तो विषम परिस्थितिलाई सामान्य अनुभूति गराउने सोचका साथ ट्यालेण्ट हण्ट सुरु गरेका हौँ ।’  गिरीले प्रतियोगिताको मूल्यांकनका लागि विभिन्न क्षेत्रका विज्ञ समावेश गरी निर्णायक मण्डल गठन गरिएको बताए । जसमा गायनतर्फ गायक सञ्जय श्रेष्ठ, नृत्यतर्फ कोरियोग्राफर गम्भिर विष्ट, साहित्यतर्फ युवा कवि तथा गजलकार जय गौडेल, चित्रकलातर्फ कलाकार तथा कला लेखक देवेन्द्र थुम्केली, डिजिटल निर्माणतर्फ डिजिटल निर्माता पदम तिमिल्सिना तथा विविधतर्फ सिनियर फोटोग्राफर राजभाइ सुवाल रहेका थिए ।

हरेक विधाका उत्कृष्ट एक प्रतिस्पर्धीले भने नगद पाँच हजार बराबरको पुरस्कार पाउने टिम सोचका अर्का सदस्य प्रशान्त पाण्डेले बताए । उनले बन्दाबन्दीको अवस्थामा युवमयुवतीमा लक्षित गरेर उनीहरुका सिर्जनालाई चिनाउने गरी कार्यक्रम गरिएको जिकिर गरे । उनले भने, ‘कोरोनाको कहरमा समेत केही गर्न खोज्ने युवाहरुलाई थप सिर्जनशील गराउन तथा उनीहरुको सोचलाई सकारात्मक ढंगले विकास गर्न ट्यालेण्ट हण्ट प्रोजेक्ट ल्याएका हौँ ।’  निर्णायक मण्डलको सहभागितामा मंगलबार जुममार्फत फेसबुक तथा इन्स्टा लाइभ गर्दै आयोजकले नतिजा सार्वजनिक गरेको हो । बिजेतालाई पुरस्कार भने लकडाउन सकिएपछि एक समारोहको आयोजना गरी प्रदान गरिने टिम सोचका अर्का सदस्य संयमी थापाले जनाइन् । उनले भनिन्, ‘सिर्जनाको कुनै सिमा हुँदैन ! देशभरिका सृजनालाई अवसर दिने मञ्चका रुपमा ट्यालेण्ट हण्ट उदाएको हो ।’

मानिसभित्र रहेको प्रतिभालाई उजागर गर्दै सिर्जनशील बनाउनका लागि यस्ता कार्यक्रम सहयोगी हुने भएकाले प्रतियोगिताको आयोजना गरिएको टिम सोचका अर्का सदस्य कमल कंडेले जिकिर गरे । उनले भने, ‘कोरोनाको कहरले कुनै पनि सिर्जना र कलालाई उजागर गर्नबाट रोक्न सक्दैन भन्ने कुरा मनन गर्दै ट्यालेण्ट हण्टको आयोजना गरिएको हो ।’  बन्दाबन्दीको समयलाई भर्चुअल माध्यमबाट सदुपयोग गर्नका लागि ट्यालेण्ट हन्ट निकै उपयोगी रहेको साहित्यकार तथा साहित्यतर्फका निर्णायक जय गौडेलले बताए । उनले भने, ‘सिर्जनाका माध्यमबाट समयको सदुपयोगसँगै प्रतिभा उजागर गर्ने सशक्त माध्यमका रुपमा प्रतियोगिता आएको छ । यसलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजानुपर्दछ ।’

मानिसमा अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन यो प्रतियोगिता फलदायी भएको निर्णायक राजभाई सुवालले बताए । उनले भने, ‘लकडाउनले मानिसलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ । यस्तै प्रतियोगितामार्फत युवायुवतीमा रहेको क्षमतालाई बाहिर ल्याउन सकिन्छ ।’ त्यस्तै, चित्रकलातर्फका निर्णायक देवेन्द्र थुम्केलीले मानिसलाई सिर्जनशील बनाउन कला, साहित्य, संगीत, नृत्य तथा अन्य सिर्जनात्मक माध्यमको अहम् भूमिका हुने भएकाले यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए । गायनतर्फका निर्णायक तथा गायक सञ्जय श्रेष्ठले सिर्जनाका माध्यमबाट युवायुवतीलाई अहिलेको विषम परिस्थितिमा सिर्जनशील बनाउन प्रतियोगिता निकै उपयोगी रहेको धारणा व्यक्त गरे ।

समाजलाई सकारात्मक सन्देश दिन र मानिसलाई सिर्जनशील बनाउन प्रतियोगिता निकै उपयोगी रहेको नृत्यतर्फका निर्णायक गम्भिर विष्टले बताए । लुक्स कार्ट टाइटल स्पोन्सर रहेको यस कार्यक्रममा राइड सियरिङ पार्टनर लुजुम, मर्कन्डाइस स्पोन्सर थ्रेड्स आर्ट नेपाल, पेलेस तथा बिन ब्याग्स, भेन्यु पार्टनर ग्लोबल कलेज अफ म्यानेजमेन्ट तथा एडुकेसन पार्टनर लर्ड बुद्ध इन्स्टिट्युट रहेका थिए ।