राजीवले ल्याए कबाल्स एन्ड कार्टेल्स

काठमाडौ । पत्रकार, लेखक एवम् विश्व बैंकमा लामो समय काम गरेका राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक कबाल्स एन्ड कार्टेल्स सार्वजनिक भएको छ । बिहीबार आयोजित कार्यक्रममा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण गरे ।

पत्रकार किशोर नेपाल मध्यस्तकर्ता रहेको कार्यक्रममा अर्थशास्त्री पौडेलले उपाध्यायको पुस्तकले नेपालले बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रुपमा केलाएको बताए । विश्व बैंकमा कर्मचारीका रुपमा काम गर्ने क्रममा उपाध्यायले देखेको समाज एवम् देश परिवर्तनमा प्रतिष्ठित व्यक्तिहरुको केकस्तो भूमिका थियो भन्ने विषयबारे पुस्तकमा चर्चा गरेको उनको भनाइ छ । सरल एवम् सहज किसिमले लेखिएको पुस्तक नेपालको अर्थराजनीति बुझाउने ऐना भएको उनले बताए । पुस्तकले पछिल्लो समयको नेपालको अर्थराजनीतिक अवस्थालाई राम्रोसँग केलाएको उनको भनाइ छ । पुस्तकमा उपाध्याले देशको बिग्रँदो अर्थतन्त्र, त्यसमा विदेशीहरुको भूमिका आदिलाई पनि सटिक रुपमा चर्चा गरिउको उनले बताए ।

कार्यक्रममा वुमेन लिडकी कार्यकारी निर्देशक विष्टले पुस्तकले नेपालको राजनीतिक एवम् आर्थिक परिवर्तनलाई उत्कृष्ट किसिमले वर्णन गरेको बताइन् । ‘यो पुस्तक उनीहरुले अवश्य पढ्नुपर्छ, जसले नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको आन्तर्य बुझ्न चाहन्छन्,’ उनले भनिन्, ‘पुस्तक अध्ययन गरेपछि मलाई एउटै शब्द बारम्बार आयो— गज्जब ।’ नेपाल आउने विदेशीहरुलाई नेपालका बारेमा बुझ्न सघाउने पुस्तक कुन दिऊँ भनेर सधैं दोधार हुने गरेको उनको भनाइ छ । तर अब उपाध्यायको पुस्तकले त्यो दोधार हटाइदिएको उनले दाबी गरिन् । विदेशी मात्र नभई नेपाललाई बुझ्न चाहने जोकसैले यो पुस्तक अध्ययन गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा पत्रकार नेपालले उपाध्यायको यो पुस्तक समकालीन नेपालको जीवन्त तस्बिर रहेको बताए । ‘नेपालबारे अंग्रेजी भाषामा लेखिएका पुस्तक धेरै छन्,’ उनले भने, ‘तर पनि ती पुस्तक पर्यटकीय चरित्रका छन् । राजीवले यो पुस्तकमा देशको यथार्थ अवस्था खुलाएका छन् ।’ उपाध्यायको पुस्ताले गर्न चाहेको र गरेका विषय पनि पुस्तकमा समेटिएको उनको भनाइ छ । पुस्तकको भाषा सरल एवम् सलल बगेको उनले बताए । देशको विगतलाई रि भिजिट गर्न पनि पुस्तक उपयोगी हुने उनको धारणा छ ।

उक्त अवसरमा लेखक उपाध्यायले पुस्तक लेख्नुका कारणबारे खुलाएका थिए । नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको उनले बताए । पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा देशमा धेरै परिवर्तन आए, विभिन्न संक्रमणको साक्षी हाम्रो पुस्ता भयो, तर परिवर्तनका लागि अहिलेको पुस्ताले उल्लेख्य काम गर्न नसकेको उनको भनाइ छ । सधैंको राजनीतिक खिचातानी, भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनाए भन्ने विषयमा पाठकले थाहा पाऊन् भनेर पुस्तक लेखेको उनले बताए । अर्थराजनीतकिो कटुयथार्थलाई बेवास्ता गर्दै विगतमा गरिएका राजनीतिक घटनाक्रमलाई आफूले यहाँ समेटेको उनले जानकारी दिए ।  पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले उपाध्यायको यो पुस्तकले नेपालको विकास एवम् अन्तर्राष्ट्रिय सहायता र देशको परिवर्तित राजनीतिक अवस्थाप्रति ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन् ।