पर्यावरणलाई खतरा बन्दै मास्क

लण्डन(एजेन्सी) । कोरोना भाइरसको महामारी शुरु हुनासाथ विश्व स्वास्थ्य संगठनले सामाजिक दुरीसँगै मास्क अनिवार्य लगाउनुपर्ने बताएको थियो । कोरोना भाइरसबाट बच्नका लागि अधिकांश देशमा सार्वजनिकस्थलमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर अब यी मास्कको कारण प्रदुषणको खतरा पनि बढ्दै गएको छ । कैयौं देशका सरकारले मानिसहरुलाई डिस्पोजेबल मास्कको सट्टा धेरै भन्दा धेरै री–यूजेबल मास्क लगाउन आव्हान गरेको छ । ब्रिटेनको लिबरल डेमोक्रेट्सले सिंगल यूज सर्जिकल मास्कका कारण अधिक मात्रामा प्लास्टिकजन्य फोहोर पैदा भइरहेको बताएको छ । यो फोहोर पर्यावरणका लागि खतरापूर्ण रहेको र पर्यावरण अनुकुल मास्कको खोजी आवश्यक रहेको डेमोक्रेट्सले जनाएको छ ।

डिस्पोजेबल मास्कमा प्लास्टिक हुन्छ, जसले जल प्रदुषणलाई बढाउछ र वन्यजन्तुलाई पनि नोक्सान पु¥याउँछ । कैयौंपटक मानिसहरुले मास्कको प्रयोग गरेपछि त्यसलाई यताउता फ्ल्याउने गरेको र त्यसलाई जीवजन्तुले खाने गरेकाले वातावरणविदले यसमा चिन्ता व्यक्त गरेका छन् । ब्रिटेन सरकारले के पर्सनल प्रोटेक्टिव इक्विपमेन्ट(पीपीई) पुनः प्रयोग गर्न सकिन्छ या सकिन्न भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । कोरोना भाइरसको प्रसार रोक्नका लागि सार्वजनिक स्थान र सवारीसाधनमा अनुहार छोप्ने(डिस्पोजेबल या री–यूजेबल) मास्कलाई अनिवार्य गरिएको छ । यसबाहेक पसल, कलेज र स्कुलमा पनि मास्क अनिवार्य गरेको छ ।

सर्जिकल डिस्पोजेबल मास्कमा प्लास्टिकको मात्रा बढी हुन्छ । यस्ता मास्क बनाउनका लागि पोलीप्रोपलिनको प्रयोग गरिन्छ । यस्ता मास्क प्रयोग गर्ने मानिसहरुलाई मास्क डिस्पोज गर्ने बेलामा मास्कलाई कालो व्यागमा राखेर फोहोर फाल्ने ठाउँमा वा लिटर विनमा डिस्पोज गर्न भनिएको छ । मानिसहरुलाई यस्ता मास्कालाई री साइकिल बिनमा नराख्न सल्लाह दिइएको छ । यस्ता मास्कलाई परम्परागत री साइकिल सुविधाबाट री साइकल नहुने बताइएको छ । यदी तपाईं घर बाहिर हुनुहुन्छ र मास्कको डिस्पोजका लागि लिटर बिन भेटिएन भने त्यसलाई घरमा ल्याएर कालो झोलामा हाली डस्टिबनमा राख्न भनेका छन् ।

पर्यावरणमा काम गर्ने कर्मचारीहरुका अनुसार लाखौं डिस्पोज्ड मास्क सडकमा सडिएका छन् । समुन्द्र किनारामा पनि उती नै संख्यामा मास्क फ्यालिएका छन् । समुन्द्र तटलाई सफा राख्नका लागि ब्रिटेनले सफाई अभियान नै आयोजना गरिरहेको छ । अभियानको नेतृत्व गर्ने संस्थान क्लीन सीजका प्रमुख लौरा फास्टरले नदीमा मास्क धेरै देखिएकाले सफाई अभियान शुरु गरेको बताइन् । ‘कैयौं पटक मास्क आपसमा अल्झिएको देखिएको छ । जीवजन्तुहरु पनि यसमा फँसेका छन् । कैयौंपटक आगो लाग्ने कारण पनि मास्क बनेका छन् । यिनीहरुलाई बायोडिग्रेड गर्न त सकिन्नँ तर यसलाई टुक्राटुक्रा पार्न सकिन्छ । समुन्द्रमा प्लास्टिक बढ्नुको सिधा असर फुडचेनमा पर्दछ’, उनले भनेकी छन् ।