किशोर कुमारका आठ किस्सा

मुम्बई(एजेन्सी) । गायक किशोर कुमारको निधनको ३३ वर्ष पुगेको छ । सन् १९८७ अक्टोबर १३ मा ५८ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको थियो । किशोर कुमार जति सुरिलो गीत गाउँथे, उनको जिन्दगीको किस्सा उत्तिकै लोकप्रिय थियो । यहाँ उनीसँग जोडिएका आठ किस्सा प्रस्तुत गरिएको छ ।

काँग्रेसको प्रतिबन्ध
यो कुरा सन् ८० को दशककै हो । जुन समयमा भारतमा संकटकाल लगाइएको थियो । त्यो समयमा काँग्रेसले किशोर कुमारलाई एक गीत गाउन आग्रह गरेको थियो । जसका लागि उनी तयार भएनन् । यो कुराले काँग्रेस यति नराम्ररी चिढियो कि उसले अलइण्डिया रेडियोमा किशोर कुमारका गीतमा प्रतिबन्ध लगाइदियो । उनको गीतमा प्रतिबन्ध लगाउने काँग्रेस नेता विद्याचरण शुक्लको नक्सलवादी हमलामा मृत्यु भएको थियो ।

बीआर चोपडासँग अनौठो शर्त
किशोर कुमारको विनोदी स्वभावको शिकार एकपटक प्रख्यात फिल्मकर्मी बलदेव राज चोपडा पनि भएका थिए । किशोरका भाई अशोक कुमार र बीआर चोपडा पहिलेदेखि नै साथी थिए । तर जब पारिवारिक सम्बन्धका किशोर चोपडासँग पुगे । त्यो समयमा चोपडाले केही शर्त राखे । त्यसपछि किशोरले ‘आज मेरो खराब समय छ । त्यो बेला तपाईंले शर्त राख्नुभयो, जब मेरो समय आउँछ, त्यो मेला म शर्त राख्नेछु’ भनेका थिए । यो कुरालाई सबैले भुलेका थिए, तर किशोरले भने सम्झिरहे । जब बीआर चोपडा उनीसँग आफ्नो फिल्मको लागि प्रस्ताव लिएर गए, त्यो बेला किशोरले शर्त राखे । उनले ‘तपाईं धोती लगाएसँगै आफ्नो खुट्टामा मोजा र जुता लगाएर आउनुभयो । मसँग सम्झौत ागर्नका लागि पान खाएर आउनुहोस् । यस्तो पान खानुहास् कि तपाईंको अनुहार रातो होस्’ भनेका थिए । अनौठो कुरा के थियो भने चोपडा न पान खान्थे, न त धोती नै लगाउँथे ।

ऋषिकेश मुखर्जीलाई हेरालु भगाएपछि
एक प्रोजेक्टको सिलसिलामा एक चर्चित निर्देशक किशोरलाई भेट्न उनको घर पुगेका थिए । तर उनका हेरालुले उनलाई घरमा छिर्नका लाग रोक लगाउँदै बेइज्जत गरेर भगाएका थिए । पछि यो घटना एक सामान्य असमझदारीका कारण भएको खुलेको थियो । किशोर कुमारले एक बंगाली आयोजकका लागि एक कार्यक्रम गरेका थिए । जसले उनलाई पैसा दिएका थिएनन् । आवेशमा आएर उनले आफ्नो हेरालुलाई कोही बंगाली बाबु घरमा आए खेदाउनु भन्ने आदेश दिएका थिए । ऋषिकेश पनि बंगाली थिए । हेरालुले ऋषिकेशलाई त्यही बंगाली आयोजक सम्झेर खेदाएका थिए ।

किशोर कुमारबाट सावधान
मानिसहरु अक्सर घरमा ‘कुकुरबाट सावधान’को बोर्ड लगाउछन् । तर किशोर कुमारले आफ्नो घर बाहिर ‘किशोर कुमारबाट सावधान’ को बोर्ड लगाएका थिए । एकपटक निर्माता तथा निर्देशक एचएस रवैल उनलाई पैसा दिनका लागि घर गएका थिए । पैसा दिएपछि जब उनले किशोरसँग हात मिलाउन लागे, तब उनले रवैलको हात मुखमा राखेर टोक्न थाले । त्यो देखेपछि रवैल झस्किए । अनि किशोरले उनलाई ‘के तपाईंले साइनबोर्ड देख्नुभएन ?’ भनी सोधेका थिए ।

दृश्य सकिएपछि कारमा बसाई
किशोरको अनौठो क्रियाकलापबाट आजित एक निर्देशकले अदालतको सहयोग मागेका थिए । उनले अदालतसमक्ष एक सम्झौता लिए, ताकि यदि सुटिङका दौरान किशोरले उनको कुरा मानेनन् भने उनीमाथि मुद्दा लगाउन सक्ने सम्झौता थियो । अघिल्लो दिन जब किशोर सुटिङका लागि सेटमा पुगे, निर्देशकले भने अनुसार नै काम गर्न थाले । एक सटका समयमा उनी कारबाट यसकारण बाहिर निस्किएनन्, किनकी निर्देशकले उनलाई बाहिर ननिस्कनका लागि भनेका थिए । यो फिल्मको एक अर्को कार दृश्यमा निर्देशकले उनलाई ‘तपाईं कारबाट अलिकति अगाडि जानुपर्छ, फेरि ओर्लनुपर्छ । अनि दृश्य सकिन्छ’ भने । तर किशोर कारबाट ओर्लिएनन् । भोलिपल्ट थाहा भयो कि उनी त्यो कार लिएर खण्डाला पुगेका थिए ।

घरमा टाउको र हड्डी
किशोरलाई मूलधारमा आउनु र मिडिया अटेन्सनमा रहनु मनपर्दैन थियो । उनी एकान्तमा समय बिताउन रुचाउथे । त्यहीकारण पनि उनी अन्तरवार्ता दिन घृणा गर्थे । आफूलाई भेट्न कम मानिस आउन भनेर उनले आफ्नो लिभिङ रुममा टाउको र हड्डीहरु राखेका थिए । उनले कोठामा रेडलाइड लगाएका थिए । खास कुरा यो हो कि किशोर आफैं हरर फिल्म हेर्न डराउथे ।

आधा पैसा, आधा काम
एकपटकको कुरा हो, किशोर कुमार कुनै फिल्मको सुटिङ गरिरहेका थिए र निर्माताले उनलाई आधामात्र पैसा दिएका थिए । यसबाट खिन्न भएर उनले आधा मेकअप गरेर सुटिङ सेटमा आएका थिए । जब निर्देशकले उनलाई पुरा मेकअप गर्नका लागि भने तब उनले ‘आधा पैसा, आधा काम । पूरा पैसा पूरा काम’ भनेका थिए ।

अन्त्यमा तलबार किस्सा
किशोर कुमारको जिन्दगीको एक मजेदार किस्सा फिल्म निर्माता आरसी तलवारसँग जोडिएको छ । एकपटक किशोर आरसीसँग काम गरिरहेका थिए । तर आरसीले उनलाई आधा मात्रै पैसा दिए । त्यसपछि किशारले हरेक विहान आफ्नो पैसा असुल्नकै लागि तलबार बोकेर आरसीको घर जान्थे । त्यसपछि उनी चिच्याउदै ‘हे तलवार, दे दे मेरे आठ हजार… हे तलवार, दे दे मेरे आठ हजार…।’ भनेर उफ्रिन्थे ।