क्रिकेट व्यवस्थापनमा लाग्दै पारस खड्का

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गरेका उनले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराए । नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उनले उल्लेख गरे ।

‘म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो’, पारसले भने । उनले दुई वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचिरहेको र अहिले त्यही सोचलाई कार्यान्वयन गरेको बताए । उनले सन्न्यासबारे सोचे तापनि क्रिकेट टोलीलाई सहयोग गर्नुपर्छ भनेर बसेको बताए ।

पूर्वकप्तान पारसले कप्तान र खेलाडीका रुपमा आफूले गर्नसक्ने योगदान राष्ट्रिय टोलीबाट पूरा गरेको बताए । ‘क्रिकेटले नै मलाई सबथोक दिएको छ । सबै कुरा पाएको छु । यति हुँदाहुँदै पनि सन्यासका लागि यो सही समय हो भनेर निर्णय लिएको हुँ’, उनले भने । उनले एकदिवसीय मान्यतालाई अहिले जोगाइराख्ने चुनौती नेपाली क्रिकेट सामु रहेको बताउँदै केही समयमै क्रिकेट एकेडेमीको शुरुआत गरेर देशभर लैजाने योजना रहेको बताए ।

अलराउण्डर पारसले सन् २००४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनी त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट सिनियर टोलीमा सहभागी भएका थिए । सन् २००९ मा कप्तानीको भूमिका निर्वाह गरेका खड्का सन् २०१९ मा कप्तानी पद छोडेका थिए । उनले विनोद दासको स्थानमा कप्तानीको भूमिका निर्वाह गरेका थिए । संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी सम्हालेका थिए ।

नेपाली क्रिकेटका सफल कप्तानका रुपमा चिनिएका खड्काले आफ्नै कप्तानीमा नेपालले डिभिजन पाँचदेखि तीनसम्मको उपाधि हात पार्न सफल भएको थियो । उनकै कप्तानीमा नेपालले सन् २०१८ मा पहिलो पटक ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यसैगरी सन् २०१४ मा बङ्गलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा खड्काकै कप्तानीमा नेपालले प्रतिस्पर्धा गरेको थियो । खड्काले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

दाँयाहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाएका थिए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उनी शतक प्रहार गर्न सफल भएका थिए । खड्काले उत्कृष्ट बलिङसमेत गरेका थिए । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।