पन्ध्रौं चुलीको गृह लोकार्पण

काठमाडौं । लेखक एवं सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’को पोखरामा गृह लोकार्पण गरिएको छ । सन् १९५० मा पहिलोपटक अन्नपूर्ण फस्र्टको आरोहण गरेको दिन पारेर गरिएको उक्त कार्यक्रममा लेखक सरुभक्त र सीमाविद् मधुसुदन अधिकारले सयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा सरुभक्त, मधुसुदन अधिकारी र नेपाल माउन्टेन एकेडेमीका निर्देशक उक्तमबाबु भट्टराईले पुस्तक विभिन्न आयाम माथि चर्चा गरे ।

भट्टराईले ‘पन्ध्रौं चुली’ साहित्यकारका लागि खुराक भएको र अध्येता तथा विद्यार्थीलाई सन्दर्भ सामग्री भएको बताए । ‘हामी कहाँ ६ हजार मिटरभन्दा अग्ला १३ सयभन्दा बढी हिमालहरु छन् तर तिनको गहिरो अध्ययन भएको छैन । तिनको अध्ययन हुनुपर्छ । खिमलाल गौतमको यो पुस्तक त्यस्तो अध्ययनका लागि प्रस्थानविन्दु हुन सक्छ,’ उनले भने ।
अर्का वक्ता अधिकारीले लेखक खिमलालले सगरमाथाको उचाइसँगै त्यसको गहिराई पनि नापेको दाबी गरे । सरुभक्तले पुस्तक पढ्दै गर्दा आफू कतिपय ठाउँमा भावुकसँगै रोमाञ्चित भएको खुलाए । ‘पन्ध्रौं चुली उच्च कोटीको साहित्य त हो नै, सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणको उच्च कोटीको इतिहास पनि हो,’ उनले भने ।

लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नाका कारणबारे केही बताए । उनले केही आफ्ना निजी अनुभव पनि सुनाए । ‘पन्ध्रौं चुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र ग¥यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उनले भने, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भसामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैप¥यो भनेर यसमा हात हालेको हुँ ।’

राष्ट्रसेवाका अवसरमा आफू दुईदुई पटक सगरमाथा आरोहणमा गएको र त्यसको अनुभूति पक्कै पनि पाठकलाई उपयोगी हुन सक्ने ठानेर पुस्तक लेखनमा लागेको उनको भनाइ छ । ‘म राष्ट्रसेवक मात्र होइन, म निजी व्यक्ति पनि हुँ,’ उनले भने, ‘यसलाई मैले साहित्य खण्डमा समेटेको छ । सगरमाथाबारेका तथ्यलाई मैले इतिहासमा समेटेको छु । यसबारे पाठकले पक्कै मूल्यांकन गर्नुहुनेछ ।’

सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुमेका छन् । नेपालमा पर्यटन प्रवद्र्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ । तर उनको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।