सांस्कृतिक संस्थानमा माटोको गीत

काठमाडौं । विदेशी पर्यटकलाई लक्षित गर्दै सांस्कृतिक संस्थानले ‘माटोको गीत’ नामक साप्ताहिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच यो कार्यक्रमको घोषणा गरियो ।

घोषणा कार्यक्रममा संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री सुदन किरातीले संस्कृति भनेको शक्तिशाली कूटनीति भएको बताए । ‘भाषा र संस्कृतिलाई कुनै पनि मुलुकको सिमानाले रोक्न सक्दैन । संस्कृति भनेको शक्तिशाली कूटनीति हो,’ उनले भने ।

संस्थानका महाप्रबन्धक अशोककुमार राईले लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रस्तुतिका क्षेत्रमा क्रियाशील सांस्कृतिक संस्थानले सांस्कृतिक पर्यटनको विकासमा टेवा पु¥याउन, नेपालको प्रस्तुतिजन्य लोक संस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारलाई चलायमान बनाउन तथा लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको बताए ।

महाप्रबन्धक राईका अनुसार विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरूको परामर्श, मूल्यांकन तथा सुझाव लिन प्रस्तुति छनोट तथा परामर्श समिति गठन गरिएको छ । सबै प्रस्तुतिलाई दस्तावेजीकरण गर्दै भविष्यमा भव्य डिजिटल लाइब्रेरी तयार गर्ने योजना समेत रहेको उनको भनाई छ । समितिको सल्लाहकारमा डा.भक्त राई, प्रेमनाथ अधिकारी, धीरेन्द्र प्रेमषि, नारायणदेवी प्रधान छन् भने प्राज्ञ अशोक राई संयोजक एवं मनोज जोशी, कृष्ण गुरुङ, खड्ग बुढामगर र सुदर्शन थापा सदस्य रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले यस कार्यक्रमलाई सफल बनाउन र निरन्तरता दिन बोर्डको सधैं साथ र सहयोग रहने बताए । पत्रकार सम्मेलनमा कार्यक्रममा लोक सांस्कृतिक प्रस्तुतिसहित गौतम बुद्ध, अरनिको, भृकुटी (हरित तारा), सीतालगायत नेपालका विभूति एवं अग्रज साधकहरूलाई विश्वमाझ चिनाउन उनीहरूको जीवनीलाई संक्षिप्त रूपमा नाटकीकरण गरी प्रस्तुत गरिनेछ ।

केही महिना साप्ताहिक रूपमा आयोजना हुने यो कार्यक्रमलाई नेपाली परिकारका साथ रात्रिभोजसहित दैनिक रूपमा प्रस्तुत गर्ने लक्ष्यका साथ तयारी भइरहेको छ । कार्यक्रममा समावेश गरिने प्रस्तुतिहरू समय, सन्दर्भ र ऋतुअनुसार परिवर्तन हुनेछ ।

२०८० मंसिर २९ गते उद्घाटन गरी पुस पहिलो सातादेखि सःशुल्क टिकटमा कार्यक्रम सुरु हुनेछ । पहिलो चरणमा कार्यक्रम प्रवद्र्धनका लागि विशेष छुटका साथ नेपाली नागरिकलाई प्रतिटिकट रु. ५००÷–, छिमेकी मुलुक भारत र चीनका नागरिकका लागि रु. १,०००÷– र अन्य विदेशी नागरिकका लागि रु. १५००÷– शुल्क तय गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।