काठमाडौं । एउटा कलाकार फिल्ममा अभिनय गर्दा आफ्नो चरित्र सशक्त होस् भन्ने चाहन्छ । अर्थात् ऊ जुन लुक्समा पर्दामा दर्शकमाझ देखिन्छ, त्यो लुक्सले दर्शक र फ्यानमा डरसँगै कौतुलहता दिलाओस् भन्ने उसको चाहना हुन्छ ।
अभिनेता प्रकाश शाह आफूलाई त्यस्तै चरित्रको पर्खाइमा थिए । अभिनेता तथा निर्देशक विराज भट्टको निर्देशकीय फिल्म ‘साङ्लो’मा अभिनय गरेपछि उनमा अझ सशक्त चरित्रमा अभिनय गर्ने उत्कट चाहना थियो । त्यो चाहना पुरा गर्न उनी अवसरको खोजीमा थिए ।
यही मेसोमा निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’ निर्माणको तयारीमा थिए । फिल्मका लागि कलाकारको खोजी भइरहँदा उनको नजरमा प्रकाश परिहाले । सुदर्शनले प्रकाशलाई भेट्न बोलाए, फिल्मको कुराकानी गरे । उनको चरित्र ‘काल्का’को लुक्स सुनाए । प्रकाशका लागि ‘रावायण’को ‘काल्का’ चरित्र यति सशक्त थियो कि उनी चरित्रबारे अध्ययन गर्न वीरगञ्जमा १० दिन बसे ।
‘काल्का अर्थात कालको पनि काल । नाम सुन्दै मान्छे तर्सिन्छन् । काल्का बन्नकै लागि तीन महिनासम्म दाह्रीजुँगा र कपाल काटिनँ । कपाल पनि वीरगञ्जका देहातीकै जस्तो बनाएँ । मैले मुख धुने, नुहाउने काम गरिनँ । म जतिसक्दो फोहोरी देखिन चाहन्थें । मैले केही न केही देखाउनुपर्छ, यो मेरो लागि पनि राम्रो हो भन्ने थियो । मेरो जीवन र करियरमा यो क्यारेक्टरले अभिनेताका रुपमा स्थापित गराउँछ भन्नेमा म ढुक्क थिएँ’, प्रकाश भन्छन् ।
प्रकाशका अनुसार काल्का चरित्र हेर्दा यति डरलाग्दो थियो कि सुटिङ हेर्न नै स्थानीय डराउँथे । फिल्ममा उनको र निकिता चण्डकको एक आइटम गीत छ । ‘काल्का’ चरित्र नाँचगानमा पनि उत्तिकै रमाउँछ । ‘त्यो आइटम गीतको सुटिङ हेर्न आएका स्थानीयहरु मलाई देखेर भाग्थे । मेरो लुक्स देखेर बच्चाहरु तर्सिन्थे । स्थानीय बालबालिकालाई अब काल्का आउन लाग्यो भन्दा डराउने अवस्था थियो । त्यो चाहिँ मेरो लागि एकदमै खुशीको क्षण थियो । मैले कुन तहको काम गरेको रहेछु भन्ने अनुभव हुन्थ्यो’, उनी भन्छन् ।
प्रकाश कैलाली, टीकापुरका हुन् । तर फिल्ममा उनले वीरगञ्जमा बस्ने भोजपुरी देहाती चरित्र निभाएका छन् । चरित्रका लागि उनले गरेको मेहनत पनि कम छैन । ‘म पश्चिमको ठकुरी, तर फिल्मको क्यारेक्टर चाहिँ टिपिकल भोजपुरी देहाती छ । सुदर्शन दाईसँग सहकार्यको कुराकानी पछि चरित्रकै लागि काठमाडौंबाट वीरगञ्ज गइहालें । मलाई देहातीबारे केही थाहा थिएन, पश्चिमको चौधरी बारेमा मात्र आइडिया थियो । म वीरगञ्जमा १० दिन बसें । त्यो बसाईमा देहातीले कस्तो लुगा लगाउँछ, कसरी बोल्छ भन्ने बुझें’, प्रकाश सम्झन्छन् । प्रकाशका अनुसार वीरगञ्ज बसाईंका क्रममा त्यस क्षेत्रमा १०–१० किलोमिटरको फरकका गाउँमा पनि फरक फरक भाषा हुँदो रहेछ भन्ने थाहा पाए । त्यसपछि उनी थप भाषा बुझ्न परासी निस्किए ।
प्रकाशले देहातीले के गर्छन् भन्ने बुझ्न स्थानीय वास्तविक मान्छेसँग घुलमिल हुने प्रयास गरे । भलै उनले आफूलाई कलाकारको रुपमा चिनाएनन् । ‘आफ्नै हिसाबले चिया खान जाने, उनीहरुको बोलीचाली बुझ्ने, हिँड्ने शैली हेर्थें । अनि राती होटलमा आउँथे । उनीहरुको बोली कमाण्डिङ शैलीको हुँदो रहेछ । त्यहाँ सबैको नेचर त्यस्तै देखें’ उनी भन्छन् ।
प्रकाशले फिल्ममा युवा र बढी उमेरको चरित्र निभाएका छन् । तर त्यो चरित्र दोहोरो भने होइन । ‘मलाई दर्शकले दुई फेजमा देख्न सक्नुहुन्छ, एउटा युवा र अर्को बुढो उमेरको । युवावस्थामा हुँदा त्यो एरियामा मेरो वर्चस्व नै हुन्छ, भनौं न जंगलको राजा जस्तै । समयसँगै ऊ शक्तिबिहिन हुँदै जाँदा भैसीपालन तिर लाग्छ । कान्छाको आगमन भइसकेपछि ऊ पुनः पुरानै काममा फर्कन्छ’, प्रकाश खुल्छन् ।
प्रकाशलाई ‘काल्का’ चरित्रबाट बाहिर निस्कन उत्तिकै गाह्रो भएको रहेछ । ‘फिल्मको काम सकेपछि क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लाग्यो । मैले हातले मुसेर खाना खान पाएको थिइनँ । चम्चीले मात्र खाएको थिएँ । सुटिङ सकेर काठमाडौं आएपछि सुदर्शन दाईलाई ‘मेरो अझै कहीँ कतै बाँकी छ कि’ भनेर सोधें । किनकी तराईको ४४ डिग्रीसम्मको गर्मी, त्यसमाथि म नुहाउन पनि पाएको थिइनँ । म पुरै बिरामी भएको थिएँ । म तराईमा जन्मिए पनि त्यतिको तातो र गर्मी अनुभव मैले गरेको थिइनँ’, उनी भन्छन् । ‘रावायण’ यही भदाै २१ गतेबाट रिलिज हुँदैछ ।