क्वारेन्टाइन बनाउन चालकले दिए आफ्नो अस्पताल

मुम्बई(एजेन्सी) । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लास्थित बारइपुरमा बस्ने मोहम्मद सहीदुल लस्करले आफ्नो दुई तले अस्पताल कोरोना संक्रमितलाई राख्न क्वारेन्टाइन केन्द्रका रुपमा सरकारलाई प्रदान गरेका छन् । पेशाले ट्याक्सी चालक शहीदुलले उपचारको अभावमा आफ्नी बहिनीको निधन भएको १२ वर्षपछि उनले कमाएको पैसा जोडेर अस्पताल बनाएका थिए । उनले उपचारको कमी वा लापरवाही कारण कुनै गरिब व्यक्ति नमरुन भन्ने संकल्प लिएर अस्पताल बनाएका थिए । टाउकोमा संक्रमण भएपछि सन् २००४ मा शहीदुलको बहिनी मारुफाको निधन भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘मनकी बात’ नामक शोको ५० औं एपिसोडमा शहीदुल प्रति आभार व्यक्त गरेका थिए । त्यही मौकामा उनलाई प्रधानमन्त्रीले दिल्ली बोलाएका थिए । तर उनको भेट मोदीसँग हुन पाएन । शहीदुलले मुख्यमन्त्री राहत कोषमा पनि कोरोना पीडितका लागि पाँच हजार रुपैंयाँ दान गरेका छन् । शहीदुलको अस्पतालमा ४० देखि ५० सैयाको क्वारेन्टाइन केन्द्र बन्न सक्ने सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्य अधिकारीहरुले उनको अस्पताल र त्यहाँ उपलब्ध सेवा प्रति सन्तोष व्यक्त गरेका छन् ।

शहीदुलले सन् २००८ मा आफ्नो तीन ट्याक्सी र पत्नीको गहना बेचेर गाउँमा जमिन किनेका थिए । त्यसपछि आफूले कमाएको सम्पत्ति जोडजाड गरेर र केही व्यक्तिबाट आर्थिक सहयोग लिएर उनले कोलकाताबाट करिब ५० किलोमिटर टाढा दक्षिण २४ परगना जिल्लाको बारुईपुरको पूर्नी गाउँमा दुई तले अस्पताल बनाए । शहीदुल आफै परिवारका साथ अस्पतालको एक कोठामा बस्दछन् । जग्गा किनेको चार वर्षपछि उनले अस्पतालको काम शुरु गरेका थिए । अस्पताल निर्माण गर्न चार वर्ष लागेको थियो ।  शहीदुलले सन् १९९१ मा १० कक्षाको परीक्षा पास गरेपछि एक स्थानीय कलेजमा उच्च शिक्षा अध्ययन गर्न निवेदन दिएका थिए । तर आर्थिक समस्याका कारण उनले पढाईलाई निरन्तरता दिन सकेनन् । त्यसको दुई वर्षपछि उनले ट्याक्सी चलाउन शुरु गरे ।

सन् २००४ मा बहिनी बिरामी भएपछि उनले बहिनीलाई लिएर धेरै अस्पताल पुगे । त्यो बेला उनलाई कतै आर्थिक अभाव त कतै उपचारको अभावको महशुस भयो । तमाम प्रयासका बाबजुद पनि उनले बहिनीलाई बचाउन सकेनन् । उनै बहिनीको सम्झनामा उनले मारुफा मेमोरियल अस्पताल बनाए । ‘मलाई लाग्यो कि यस्तो केही काम गर्नुपर्छ ताकि कोही व्यक्ति उपचारको अभावमा समय अगावै नमरुन् र आफ्नो प्रियजनबाट नविछोडिउन्’, उनले भने । शहीदुलका अनुसार अस्पताल निर्माणको संघर्षका दौरान उनलाई श्रीमति शमीमाले ठूलो साथ दिइन् । ‘पत्नीको सहयोग बिना अस्पताल बनाउने सपना पुरा हुने थिएन । शुरुवातमा मलाई कैयौंले सन्की भने । तर श्रीमतिले हरदम साथ दिइन् । जग्गा किन्नकै लागि उनले सबै गहना बेचिन’, उनले भने । शहीदुलको अस्पतालमा आठ डाक्टर छन्, जसले गरिब बिरामीको निशुल्क उपचार गर्छन् । शहीदुलको योजना अस्पतालको अझै चार तला बनाउने छ ।