रोमान्टिक हिरोको रोमान्टिक कथा

मुम्बई(एजेन्सी) । बलिउडका सर्वाधिक रोमान्टिक अभिनेतामध्येका एक ऋषि कपूरको मुम्बईमा बिहीबार बिहान निधन भएको छ । उनको बिहीबार साँझ अन्त्येष्टि गरिएको छ । ऋषिको परिवारमा श्रीमति नीतू, अभिनेता रणवीर कपूर र छोरी रिद्धिमा छन् ।  ऋषिको पारिवारिक पृष्ठभूमि अभिनयसँगै जोडिन्छ । सम्भ्रान्त परिवारमा जन्मिएका ऋषिका चारै पुस्ता अभिनयसँग जोडिएका थिए । आधुनिक पाकिस्तानको पेशावारका कपूर परिवार सन् १९४७ को भारत पाकिस्तान विभाजन पछि भारत आएका थिए । ऋषिका हजुरबुवा थिएटर कम्पनी चलाउँथे । उनका पिता राज कपुर आफैमा बलिउडका वरिष्ठ अभिनेता तथा निर्देशक हुन् । राज कपुरलाई भारतीय सिनेमाको मार्गदर्शक मानिन्छ ।

ऋषिलाई परिवारले ‘चिन्टु’ भनेर भोलाउँथे । ऋषिले हजुरबुवाको नाटकहरुमा खाटमा सुत्ने बालकको चरित्रमा अभिनय गर्थे । चार वर्षको उमेरमा उनले बुवाको फिल्म ‘श्री ४२०’मा रोमान्टिक वर्षात गीतमा अभिनय गरेका थिए । उनले बाल कलाकारका रुपमा सन् १९७० मा फिल्म ‘मेरा नाम जोकर’बाट अभिनय यात्रा शुरु गरेका थिए । यो फिल्मले एक जोकरको जीवन र उसको रोमान्सको कथालाई देखाएको थियो । यो फिल्मलाई उनका पिताले निर्देशन गरेका थिए भने मुम्बईमा रहेको आफ्नै परिवारको स्टुडियोले निर्माण गरेको थियो । तर यो फिल्म बक्सअफिसमा फ्लप भयो । बक्सअफिसमा फ्लप भए पनि समय बित्दै जाँदा यो फिल्म सर्वाधिक हेरिने फिल्ममा दरियो ।

‘फिल्मको कलाकार छनोट भइरहँदा म स्कुलमा थिएँ । मेरो बुवाले आमालाई त्यो भूमिकामा अभिनय गर्छ या गर्दैन् भनेर सोध्न लगाउनुभएको थियो । यो सुनेपछि म यति खुशी भए कि म कुदेर कोठामा गएँ, अनि अटोग्राफ दिने तरिका सिक्न थालें’, ऋषिले एक अन्तरवार्तामा भनेका छन् । सन् १९७३ ऋषिको लागि विशेष समय थियो । यो वर्षमा २० को उमेरमा हिँड्दै गरेका उनले पिताले निर्देशन गर्ने नयाँ फिल्म ‘बोबी’मा नायकका रुपमा डेब्यू गर्ने मौका पाए । दुई शहरका किशोर किशोरीको सांगीतिक प्रेमकथाको यो फिल्मले कपूर परिवारको जीवनलाई नै परिवर्तन गरिदियो । यो फिल्म त्यस समयमा जबरजस्त हिट भयो । यो समयमा बलिउडका अधिकांश नायकहरु रिसाहा चरित्रमा या पीडादायी चरित्रमा अभिनय गर्थे । कपूरको युवावस्थाको जीवन्नतता र डेब्यू नायिका डिम्पल कपाडियासँगको अनस्क्रिन क्यामेस्ट्रीले दर्शकमाझ बेग्लै छाप छोडिदियो ।

सन् १९७० दशकको समयमा ‘बोबी’ व्यावसायिक रुपमा सर्वाधिक सफल फिल्ममा दरियो । यो फिल्म सोभियत यूनियनमा पनि उत्तिकै लोकप्रिय बन्यो । यो फिल्मको क्रेज यति धेरै बस्यो कि विशेषत युवतीहरुले ऋषिलाई रगतको चिठी नै लेख्न थाले । उनीहरुले ‘बोबी’को टिसर्ट नै लगाउन थाले । अमेरिकाको दी न्यूयोर्क टाइम्सले यो फिल्म किन सफल भयो भन्ने बारे लेखेको छ । ‘दुई नयाँ स्टार, कथामा संगीतको माधुर्यता, समाजवादको एक स्पर्श, युवापुस्ताका लागि एक स्पष्ट अपिल, केही कामूक दृश्य, हिंसा र तीन घण्टा असाधारण अपहरण’, पत्रिकाले समिक्षामा लेखेको थियो, ‘युवापुस्ताका लागि परम्परागत भारतीय फिल्म भन्दा यो फिल्म केही नयाँ छ । जसका कलाकारहरु उनीहरुले निर्वाह गरेको चरित्र भन्दा ठूला छन् ।’ अभिनेता शाहरुख खानले पनि फिल्म ‘बोबी’ अघि भारतीय फिल्म महिला र पुरुषमा आधारित भए पनि ‘बोबी’ पछि त्यो केटा र केटीमा आधारित भएको बताएका थिए ।

ऋषिले आफ्नो बायोग्राफी ‘खुल्लम खुल्ला’मा पनि आफ्नो चरित्रको वर्णन गरेका छन् । ‘सन् १९७० देखि ८० को दशकमा मेरो छवि एउटा रोमान्टिक स्टार, धुन गुनगुनाउने, जर्सी पहिरिएको, जसको एक हातमा गीतार र अर्को हातमा केटी हुने गरेको थियो’, उनले लखेका छन् । उनले अभिनय गरेका फिल्महरु ‘कभी कभी’, ‘अमर, अकबर एन्थोनी’, ‘नसिब’, ‘कुली’ र ‘अजोबा’ बलिउडका कोशेढुंगा साबित भएका फिल्ममा गनिन्छन् । उनले एक अन्तरवार्तामा आफ्नो २५ वर्षे फिल्मी करियरमा गीत गाउन, नायकासँग रोमान्स गर्ने र रुखको वरपर घुम्ने शैलीलाई अंगालेको स्मरण गर्दै त्यो अवस्थालाई बिर्सेर आफ्नो भूमिकालाई प्रयोग गर्दै आफू भित्र नयाँ प्रतिभा जन्माउन लागि परेको बताएका थिए ।