अपरिचितको दाहसंस्कार गर्ने प्रहरी सन्ध्या

मुम्बई(बीबीसी) । ‘मेडम यो बर्दी छ नि यसले धेरै शक्ति दिन्छ’, यो तपाईंलाई कुनै फिल्मको एक संवाद जस्तो लाग्ला, तर जब तपाईं सन्ध्या शिलवन्तसँग कुराकानी गर्नुहुन्छ, तब तपाईंलाई विश्वास लाग्छ थाल्छ कि उनी केवल साहसिक मात्र होइनन्, सकारात्मक सोचकी महिला पनि हुन् भन्ने लाग्छ । मुम्बई प्रहरीमा नायकको पदमा कार्यरत सन्ध्या हालका दिनमा निकै प्रशंसा बटुलिरहेकी छन् । राज्यको गृहमन्त्री अनिल देशमुखले उनको तारिफ गर्दै ‘शाहूनगर पुलिस स्टेसनकी कन्स्टेबल सन्ध्या शिलवन्तले एक दिनमा चार वेवारिसे शवको अन्तिम संस्कार गरिन् । आजसम्म उनले यस्ता छ वेवारिसे शवको अन्तिम संस्कार गरेकी छन् । यदी तपाईंको मनमा सामाजिक प्रतिबद्धता छ भने हरेक किसिमको डर ढोकामा नै बन्द हुन्छन्’ भनेर ट्वीट गरेका छन् ।

उनको यो भनाई केवल प्रहरी विभागको लागि मात्र होइन, सबैका लागि प्रेरणादायक छ । सन्ध्या शाहूनगर प्रहरी थानामा एक्सिडेन्टल डेथ रिर्पोट अर्थात् एडीआरको काम सम्हाल्छिन् । कोभिड–१९को दौरानमा उनले एक दिनमा चार शवको अन्तिम संस्कार गरिन्, जसमा एक मृतक कोरोना पोजेटिभ पनि थिए । उनले मे १४ मा चार शव, अप्रिल २४ मा दुई शवको अन्तिम संस्कार गरेकी थिइन् । उनी मे २६ अर्थात मंगलबार दुई शवको अन्तिम संस्कार गरिन् ।

गृहमन्त्रीको तारिफका लागि उनले आभार व्यक्त गरेकी छन् । ‘तपाईंलाई लाग्छ सक्छ कि मेरो प्रशंसा भइरहेको छ । तर म भन्छु कि यो मेरो कर्तव्य हो । समाजप्रति मेरो जिम्मेवारी पनि छ, जुन निभाउनै पर्छ । म आफ्नो विचारलाई सकारात्मक राख्दछु’, उनले भनेकी छन्, ‘म जुन विभागमा छु, त्यसका लागि मैले लोकमान्य तिलक अस्पताल जानु पर्दछ । जहाँ हरेक किसिमका केस आउँछन् । जसमा कोभिडका पनि हुन्छन्, त्यस्तो अवस्थामा संक्रमित हुने हो कि भन्ने डर पनि हुन्छ ।’

सन्ध्याका अनुसार महाराष्ट्रमा केस बढेका छन् । त्यहाँका प्रहरीहरुले पनि कोरोना टेस्ट गराएका थिए, जसमा कैयौं प्रहरीको रिपोर्ट पोजेटिभ आएको थियो । तर उनको रिपोर्ट भने नेगेटिभ आएको छ । उनले आफूलाई कोरोना हुन्छ भन्ने कुरा नसोचेको बताइन् । ‘मैले मेरा बच्चाहरुलाई आफ्नो कामको बारेमा केही भनेको छैन । जब मैले चार शवको दाहसंस्कार गरेको र तीमध्ये एक कोरोना पोजेटिभ भएको खबर पत्रिकामा आयो, त्यो पढेर मेरो १३ वर्षकी छोरीलाई मलाई बधाई दिइन् ।’ उनले भनेकी छन् ।

उनको पिता र ससुरा दुवैजना प्रहरीमा काम गरिसकेका छन् । त्यसकारण पनि उनकी आमा र सासु उनको कामलाई मान्दछिन् । ‘म दुई वर्षदेखि एडीआरको काम सम्हालिरहेको छु । मैले हालसम्म २० वटा शवको अन्तिम संस्कार गरिसकेको छु । मेरा लागि यो एउटा पुण्यको काम हो । सायदै त पूर्व जन्ममा केही भएर यो अवसर पाएको होला । कोही नहुने मानिसको अन्तिम संस्कार गर्नु आफैंमा पुण्यको काम हो’, उनले भनेकी छन् ।

एडीआर विभागमा काम गर्ने व्यक्तिको काम वेपता या अज्ञात व्यक्तिको मृत्यु भएपछि पोस्टमार्टम रिपोर्ट अनुसार शुरु हुन्छ । शंकास्पद अवस्थामा मृत्यु भएका व्यक्तिको कैयौं पटक शरीरको अंगलाई फरेन्सिक ल्याबमा पठाइन्छ । सन्ध्याका अनुसार उनको काम फोक्सो, मुटु जस्ता अंगलाई ल्याबसम्म लैजाने हुन्छ । जाँच पछि उनी फाइनल पोस्टमार्टम रिपोर्ट अधिकारीहरुसमक्ष पेश गर्छिन् । सन्ध्याका अनुसार जुन मृतकको शव लिन कोही आउँदैनन्, उनीहरुको शवलाई अन्तिम संस्कार गरिन्छ ।