काठमाडौं । साहित्यकार उपप्राध्यापक तेजविलास अधिकारीको हाइकु संग्रह ‘उच्छलन’ प्रकाशित भएको छ । संग्रहमा नेपाली समाजभित्र रहेका विकृति, विसंगति, बेथिति, भ्रष्टाचारलगायत समसामयिक राजनीति, समाज, प्रकृति, राष्ट्रप्रेम तथा सीमान्तकृत समुदायको भावना समेटिएका हाइकु संग्रहित छन् । संग्रहमा रहेका अधिकांश हाइकुले मानव, समाज, प्रकति, राजनीति लगायतका पाटालाई कलात्मक रुपमा चित्रण गरेको पाइन्छ । तार्किक र मननयोग्य तरिकाले लेखिएका हाइकुले नेपाली समाजको गति र दिशालाई समेत उधिनेको पाइन्छ । साथै समाजको रुप र त्यसको मनोविज्ञानलाई अधिकारीले सटिक रुपमा हाइकुमार्फत बाहिर ल्याएका छन् ।
अधिकारीका हाइकुका बारेमा डा. मधुसूदन गिरी लेख्छन्, ‘यहाँ आफ्ना र आफूहरुका पक्षका आवाजहरु छन् । उन्मत्त दुर्योधन प्रवृत्तिप्रतिका झटाराहरु छन् काली बन्ने घाँटीमा नरमुण्ड माला जिब्रोमा रगत लत्पतिएकी सेतीहरुका यथार्थ छन् ।’ उनले हाइकुले अस्थायी सरकार मात्र होइन स्थायी सरकारसमेत कामचोर, दामचोर र के के चोर, के के चोर भएको अनुभव अधिकारीको रहेको बताए ।
डा. हरि सिलवालले संग्रहमा मानवतावादी विचारको खोजी, शुद्ध समाजवादी विचारको रोजाइ र भए गरेका यथार्थताको समसामयिक सामाजिक भोगाइको मिश्रणत्रयका रुपमा बोध गर्नु उचित हुने तर्क गरेका छन् । उनले संग्रहको भूमिकामा लेखेका छन्, ‘हाइकुकारले व्यंग्य प्रहार गरी मानव समाजलाई धुने र स्वच्छ समाजको निर्माणमा साहित्य स्रष्टाको भूमिकालाई सबल बनाउने जिम्मेवारी बोकेका छन् । उनका व्यंग्य विधानभित्र व्यक्ति ,परिवार, समुदाय, राष्ट्र र अन्तराष्ट्रसम्मका विषयले स्थान पाएको छ ।’
राजनीतिक नेतृत्वको स्वच्छाचारी प्रवृत्ति, सत्ता र विलासिताको अपार मोह, मौलाउँदो व्यक्तिवादी चरित्र र नातावाद कृपावादमाथि कार्यकर्ताको चाप्लुसी प्रवृत्तिमाथि रोष प्रकट गरिएको टेकनाथ पाण्डेयले उल्लेख गरेका छन् । उनले भूमिकामा लेखेका छन्, ‘अधिकारीका यी प्रतिनिधि हाइकुले नेपाली समाजमा मौलाएको विकृति, विसंगति, राजनीतिक विशृंखलता, प्रशासनिक दुष्चरित्रता, आर्थिक गतिहीनतामाथि प्रहार गरेका छन् । हाइकुमा प्रहार मात्र छैन माया, देश र मातृत्वप्रतिको ममत्व पनि छ । समग्रमा अधिकारीका हाइकु राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक, वातावरणीय विषयका विविध आयाममा लेखिएका छन् ।’
समाजभित्रका विभिन्न परिवेशले आफूलाई हाइकु लेख्न अभिप्रेरित गरेको हाइकुकार तेजविलास अधिकारीले बताए । उनले भने, ‘समसामयिक परिदृश्य र त्यसको समाजमा परेको प्रतिछायाँ हाइकुका विषय बनेर आएका छन् । समग्र भन्नुपर्दा संग्रहमा नेपाली समाजको चित्रलाई उधिन्ने कोशिस गरिएको छ ।’