काठमाडौँ । आगामी साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हली’ ले काठमाडौँस्थित सिटी सेन्टरमा रहेको बिग भुमिजमा विशेष शो गरेको छ । हाउसफूल दर्शकको उपस्थितिसहित आयोजना गरिएको उक्त विशेष शोमा फिल्मले दर्शक तथा फिल्मकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
फिल्म हेरेपछि अधिकांश फिल्मकर्मी र दर्शकहरूले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको भन्दै निर्माण पक्षको तारिफ गरेका थिए । दर्शकको माया र सकारात्मक प्रतिक्रियाबाट निर्देशक तथा लेखक ओम प्रतीक र निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ उत्साहित छन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ ।
राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्ममा संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ । फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।




