प्रेमीलाई भेट्दा मिस युनिभर्सबाट बाहिरिइन् इटली

लसएन्जल्स(एजेन्सी) । ‘मिस युनिभर्स’ जस्ता विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउनु जोकोही सुन्दरीका लागि ठूलो सफलताको कुरा हो । यो प्रतियोगितामा पनामाकी सुन्दरी इटली मोरी पनि सहभागी थिइन् । सबैकुरामा सामान्य चलिरहँदा यी सुन्दरी ‘मिस युनिभर्स’मा आयोग्य ठहरिन् ।

समाचार अनुसार उनलाई आयोजकले इटलीको निजी विवादका कारण उनलाई प्रतियोगिताबाट बाहिर पठाएका हुन् । आयोजकले इटलीले आफुहरुको अनुमतिबिना प्रेमीसँग भेटेको आरोप लगाएका छन् ।

इटलीले प्रेमीलाई होटलमा गएर भेटेको प्रमाणित भएपछि उनलाई आयोजकले हटाएका थिए । आयोजकका अनुसार इटली आयोजकको अनुमति बिना मेक्सिकोमा प्रेमी जुआन अबादियासँग अलग्गै होटलको कोठामा बसेकी थिइन् ।

आयोजकको दाबीलाई भने इटलीले अस्वीकार गरेकी छन् । उनले प्रतियोगिताका एक निर्देशकसँग विवाद भएपछि आफूलाई अयोग्य घोषित गरेको दाबी गरेकी छन् । इटलीलाई प्रतियोगितामा अयोग्य घोषित गरिएपछि सामाजिक सञ्जालमा अलग अलग किसिमका प्रतिक्रिया आइरहेका छन् ।

मिस युनिभर्स अर्गनाइजेसनले इटलीलाई प्रतियोगिताबाट निष्कासन गर्नु सही निर्णय भएको उल्लेख गरेको छ । उसले इटलीको गल्ती पहिचान गरी उनीविरुद्ध अनुसन्धान गरी पारदर्शी र सबै पक्षलाई सम्मान गर्दै निर्णय लिइएको जनाएको छ ।

यता मिस पनामा अर्गनाइजेसनले घटनाको पुष्टि गर्दै पनामाबाट अरु कोही नयाँ प्रतियोगी प्रतियोगितामा नपठाउने निर्णय लिएको छ । मिस युनिभर्सको फाइनल १६ नोभेम्बरमा मेक्सिकोमा हुनेछ ।