ग्रामीण बस्ती र मझौला सहरमा नेपथ्यका गीत

काठमाडौं । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदै छ ।

ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहाको सिसुवार मैदान (सभागृहअगाडि) गर्दैछ ।

दोस्रो कन्सर्ट स्याङ्जाको पुतलीबजारमा मङ्सिर ५ गते शनिबार हुनेछ । त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले लोकरक सुनाउन लागेको हो । त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखतिर लाग्नेछ । म्याग्दीको बेनीस्थित खुलामञ्चमा मङ्सिर ९ मा दर्शकसामु उपस्थित हुने नेपथ्यको तालिका छ ।

चौथो कन्सर्ट तनहुँको बेलचौतारामा मङ्सिर १२ गते शनिबार हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित यो बस्ती राजमार्गसँग जोडिएको छ । कन्सर्ट भानुभक्त क्याम्पसको मैदानमा हुनेछ । नेपथ्यका सबै कन्सर्टका लागि निर्धारित दिनको अपराह्न ४ बजे ढोका खुला हुनेछन् ।
यो पाला प्रस्तुत हुने यी चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक सबै ठाउँमा ब्यान्ड पहिलो पटक उपस्थित हुन लागेको हो । कन्सर्टलाई लिएर त्यस भेगका बासिन्दाले सामाजिक सञ्जालमा चर्चा गर्न थालिसकेका छन् ।

‘मैले गाउँघर डुलेरै नेपाल चिनेको हुँ । यस्ता बस्तीहरूबाटै हाम्रा गीतहरू सङ्कलन गरिएका हुन्,’ नेपथ्यका प्रमुख गायक अमृत गुरुङ भन्छन्, ‘त्यसमाथि यस्ता बस्तीहरूमा प्रस्तुत हुँदा दर्शकबाट मैले अन्यत्रभन्दा बढी आत्मीयता अनुभव गर्दै आएको छु ।’

नेपथ्यको यस यात्रामा आठवटा ट्रक र चारवटा प्यासेन्जर गाडी गरेर झन्डै सय जनाको टिम साथसाथै रहनेछ । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

यो यात्रापछि नेपथ्यले अस्ट्रेलियाको गर्दै छ । डिसेम्बर महिनामा ब्यान्ड एडिलेड, सिड्नी र पर्थ सहरमा प्रस्तुत हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।