खेमनाथलाई टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

काठमाडौं । साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ । टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा गत शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त पुरस्कार कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ तथा कीर्तिमानी गीतकार डा.उपाध्यायलाई प्रदान गरिएको थियो । गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना मातापिताको नाममा यो पुरस्कार स्थापना गरेका हुन् ।

प्रतिष्ठानले साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विविध पक्षलाई सिर्जनामार्फत अभिव्यक्त गर्दै नेपाली वाङ्मयको समृद्धिमा पुर्‍याएको योगदानको कदरस्वरूप दाहाललाई सम्मान गर्न लागिएको जनाएको छ ।

दाहालका ‘श्रद्धाञ्जलि’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्रह, ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिकालेखनसंग्रह प्रकाशित छन् । ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहालः सिर्जना र मूल्यांकन’ तथा ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’लगायतका कृति पनि प्रकाशित छन् ।

‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यबाट साभार गरिएका गीत समेटिएको उक्त एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत समावेश छन् ।