पाँच पाण्डवकी फाइटर लेडी दीपाश्री

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’ यही शुक्रबारबाट रिलिज हुँदैछ । फिल्ममा अभिनेत्री दीपाश्री निरौला अर्का कलाकार जितु नेपालकी अनस्क्रिन श्रीमतिको भूमिकामा देखिँदैछिन् । फिल्ममा जितुले भीमको भूमिका निभाएका छन् । तर जितु भीम भए पनि दीपाश्री भीमभन्दा बलियो रुपमा प्रस्तुत भएकी छन् ।

दीपाश्रीका अनुसार उनी फिल्ममा फाइटर लेडीका रुपमा देखिँदैछिन् । ‘यसपटक मेरो चरित्र अलिक फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो । मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन् ।’ दीपाश्री भन्छिन् ।

दीपाश्री आफ्नो प्रवेश हुनेबित्तिकै दर्शकबाट सिठी, ताली र हुटिङ आउनेमा ढुक्क छिन् । “डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्ती । दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ । श्रीमानलाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ ।’ दीपाश्रीको भनाई छ ।

यो फिल्ममा उनले निभाएको चरित्र नयाँ अनुभव भएको दीपाश्रीको भनाई छ । ‘फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु,’ उनी भन्छिन्, ‘मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ ।’

वसन्त निरौला निर्देशित फिल्ममा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ छिन् ।