काठमाडौं । आगामी माघ १ गते रिलिज हुने फिल्म ‘चिरञ्जीवी भवः’ को दुई पोस्टर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् ।
एउटा पोस्टरमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् । हरिवंश गम्भीर मुद्रा छन् भने आशीर्वाद र प्रशंसा हाँसिरहेका छन् । क्याजुअल लुक्समा रहेका आशीर्वाद कसैलाई हेरेर हाँसिरहँदा बुट्टे चोली र सारीमा रहेकी प्रशंसा पनि क्याजुअल शैलीमा हाँसिरहेकी छन् ।
सुकिलो मुहारमा रहेका पोस्टर साइजका हरिवंश भने सेतै फूलेको कपाल र जुँगा, नयाँ ढाका टोपी र चिल्लो गोरो अनुहारले उनलाई खानदानी परिवारको घरमुलीको झल्को दिन्छ । अर्को पोस्टरमा हरिवंश आशीर्वादलाई आशीर्वाद दिइरहेका छन् ।
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशन रहेको फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका छन् ।फिल्ममा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।
कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।






