गायिका आनी लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

काठमाडौं । गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उक्त पदमा मनोनीत गरिएको हो । उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।

बौद्ध भजन तथा मन्त्रलाई आधुनिक संगीतमार्फत विश्वभर पुर्‍याएकी आनीलाई ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा चिनिन्छ। उनको आत्मकथा ‘सिङ्गिङ फर फ्रिडम’ विभिन्न भाषामा अनुवाद भएको छ। उनले गाएको गीत ‘फूलको आँखामा फूलै संसार’ सर्वाधिक लोकप्रिय गीत हो ।