काठमाडौं । गायकत्रय प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा प्रस्तुत हुँदा तेह्रथुमको म्याग्लुङ संगीतमय बनेको छ । दशौं हजार दर्शकमाझ तीनै कलाकारले गीत सुनाउँदा म्याङलुङ नाँचेको थियो ।
कार्यक्रममा प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ तथा देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे । प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्याण्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डको विशेष लाइभ प्रस्तुतिमा दर्शकमाझ देखिएका थिए ।
आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए । ‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको यो सांगीतिक यात्रा तेह्रथुमबाट सुरु भएको हो । सातै प्रदेशका १३ वटा शहरमा आयोजना हुने टुरमा प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुसहितको टोलीले लाइभ प्रस्तुति दिनेछ ।
तेह्रथुमपछि असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट आयोजना हुनेछ । त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम हुनेछ ।
त्यसैगरी नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा, धरानलगायतका शहरमा पनि कन्सर्ट आयोजना हुने आयोजक प्रशान्त सुनारले जानकारी दिए ।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको यो सांगीतिक यात्रा स्थानीय आयोजक तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ ।






