काठमाडौं । कुमार गजुरेल निर्देशित फिल्म ‘सारथी’ को ट्रेलर शुक्रबार काठमाडौंंमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ । म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटेर तयार पारिएको ट्रेलरमा आमा र छोराबीचको मर्मस्पर्शी जीवनसंघर्षलाई मुख्य कथा बनाइएको छ ।
जीवनयापनका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको ‘सारथी’ बनेकी आमाको भूमिकामा निरुता सिंह र छोराको भूमिकामा गिरी विश्वकर्मालाई ट्रेलरमा प्राथमिकता दिइएको छ । लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधानलाई ट्रेलरमा रहस्यमयी पात्रको रुपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरको सुरुवातमै फिल्मको शीर्षकको अर्थ बुझाउँदै कलाकारहरूको चिनारी गराइएको छ भने ग्रामीण भूमिकामा देखिएका सबै कलाकारहरूको अभिनय निकै स्वाभाविक र जीवन्त देखिएको छ।
फिल्मका निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद लेखन रहेको यो फिल्म यही मंसिर ११ गते हलमा प्रदर्शन हुनेछ । फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारको अभिनय छ ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । फिल्म संकल्प भुजेलले छायांकन गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् ।
फिल्मका कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । फिल्ममा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।
फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशन छ । फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ ।







