पोर्चुगल। नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको नेपाल संवत्ले पहिलोपटक पोर्चुगलस्थित नेपाली राजदूतावासको आधिकारिक दस्तावेजमा स्थान पाएको छ। राजदूतावासले आफ्ना आधिकारिक दस्तावेजमा विक्रम संवत् र इस्वी संवत्सँगै राष्ट्रिय संवत् नेपाल संवत्मेत उल्लेख गरेको हो ।
नेपाली राजदूतावास, लिस्बनले २०८३ कात्तिक २७ गते (१३ नोभेम्बर २०२६) जारी गरेको आधिकारिक सूचनामा ‘ने.सं. ११४७ कछलाथ्व चतुर्थी’ उल्लेख गरेको छ। सरकारी कामकाज, प्रशासनिक अभिलेख तथा आधिकारिक पत्राचारमा नेपाल संवत्को प्रयोग हुनुपर्ने माग लामो समयदेखि आवाज उठ्दै आएको अवस्थामा राजदूतावासको यस कदमलाई सरोकारवालाहरूले सकारात्मक पहलका रूपमा स्वागत गरेका छन्।
नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी सुरु गरेको मानिने यस संवत्को प्रयोगले नेपालको इतिहास, सामाजिक चेतना र सांस्कृतिक गौरवलाई प्रतिनिधित्व गर्दछ।
नेपाल संवत्को संस्थागत प्रयोगका लागि निरन्तर पैरवी गर्दै आएका अभियन्ता गंगाबहादुर नेम्कुलले राजदूतावासको यस पहलप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
नेम्कुलका अनुसार आधिकारिक सूचनामा नेपाल संवत् उल्लेख हुनु केवल एउटा मिति थपिनु मात्र होइन, नेपालको मौलिक इतिहास, सभ्यता, सांस्कृतिक विरासत र राष्ट्रिय पहिचानलाई राज्यको आधिकारिक अभिलेखमा सम्मानजनक स्थान दिनु हो। यसले नेपाल संवत्को संस्थागत प्रयोग विस्तार गर्न तथा नयाँ पुस्तामाझ यसको ऐतिहासिक महत्त्व स्थापित गर्नसमेत सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ छ।







