नेपाल ग्लोबल फिल्म फेस्टिभल हुँदै

काठमाडौं। नेपाल ग्लोबल फिल्म फेस्टिभल(एनजीएफएफ) २०२७ को तयारी सुरु भएको छ । नेपाली फिल्मलाई विश्व बजारसँग जोड्न र नेपाललाई अन्तर्राष्ट्रिय फिल्मको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको फेस्टिभल आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना फिल्मकर्मी, सञ्चारकर्मी तथा फिल्म उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजक नेपाल फिल्म एण्ड मिडिया एकेडेमीले जनाएको छ ।

फेस्टिभलका लागि विश्वभरबाट ५०० भन्दा बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री प्राप्त भएको आयोजकको भनाई छ । ‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा प्राप्त फिल्ममध्ये करिब १०० वटा उत्कृष्ट फिलम छनोट गरी चार दिनसम्म काठमाडौंमा प्रदर्शन गरिनेछ। फिल्म छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा गठित फिल्म छनोट समितिले काम गर्नेछ। छनोट भएकामध्ये उत्कृष्ट फिल्महरूलाई निर्देशक अशोक शर्मा नेतृत्वका नेपाली तथा विदेशी जुरीहरूले नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवका निर्देशक गणेश पाण्डेले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवप्रति विश्व फिल्मकर्मीको विश्वास र चासोले फिल्म पर्यटनमा पनि टेवा पुग्ने बताए ।

महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, माउन्टेन फिल्म, वातावरणसम्बन्धी फिल्म, मानवशास्त्रीय फिल्म, मानवअधिकारसम्बन्धी फिल्म, महिला विषयवस्तुमा आधारित फिल्म तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित फिल्मलाई समेटिनेछ। त्यसैगरी एनिमेसन, विद्यार्थी फिल्म र कृत्रिम बौद्धिकता (एआई) मा आधारित फिल्मलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएका छन् ।

महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म फिल्म प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, फिल्म कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।