१० लाख बढीले हेरे ककाकिकी ट्रेलर

काठमाडौं । फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक भएको पाँच दिनमै युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। युट्युबसँगै फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा पनि ट्रेलरको चर्चा राम्रै छ ।

अधिकांशले फिल्मको प्रस्तुति, दृश्य संयोजन र कथावस्तुको प्रशंसा गरेका छन् । एक युट्युब प्रयोगकर्ताले लेखेका छन्, ‘यो एकदमै अनौठो र साँच्चै सिनेम्याटिक देखिन्छ। बिक्की र उनको टिमबाट यस्तै उत्कृष्ट कामको अपेक्षा थियो।’

त्यस्तै, अर्का दर्शकले ट्रेलरको प्रस्तुतिलाई नौलो भन्दै लेखेका छन्, ‘ट्रेलर प्रस्तुत गर्ने तरिका एकदमै नयाँ छ। यस्तो त विदेशी चलचित्रहरूमा मात्र देखेको थिएँ। चलचित्रका लागि निकै उत्साहित छु।’

ट्रेलर नेपालको युट्य्व मुभि ट्रेन्डिङ चार्टको तेस्रो नम्बरमा आउन सफल भएको छ । ट्रेन्डिङको पहिलो नम्बरमा बलिउड फिल्म मातृभूमिको ट्रेलर छ भने दोस्रोमा नेपाली फिल्म बाटुलो जूनको ट्रेलर छ ।

फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन् भने विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्। फिल्म मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।