काठमाडौं । धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ले बुधबार साँझ राजधानीको ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्स हलमा प्रिमियर शो गरेको छ । फिल्ममा उपस्थित कलाकार तथा सेलिब्रेटीहरूले फिल्मको कथावस्तु, हिमाली दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको चर्चा गरेका थिए ।
कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म अहिले आइरहेका फिल्मभन्दा फरक रहेको प्रतिक्रिया दिए । उनले फिल्मको दृश्य र प्रस्तुतिलाई अन्तर्राष्ट्रिय स्तरको भन्दै फिल्ममा प्रयोग भएको भाषा केही कडा लागेको प्रतिक्रिया दिए ।
उनले यार्सागुम्बा टिप्ने क्रममा हुने लुटपाट, झगडा र मानवीय क्षतिका घटना आफूले पहिल्यै सुने पनि फिल्ममार्फत ती विषयलाई पर्दामा हेर्न पाएको बताए ।
निर्देशक दीपेन्द्र के खनालले नयाँ निर्देशकलाई प्रोत्साहन गर्न दर्शकसँग आग्रह गरेका छन् । ट्रेलर हेर्दा फिल्म पूर्णतः आर्ट हाउस शैलीको होला भन्ने लागेको भए पनि फिल्म हेर्दा आर्ट हाउस र कमर्सियल दुवै पक्षको सन्तुलित प्रस्तुति पाएको उनको भनाइ थियो ।
अभिनेत्री लक्ष्मी वर्देवाले फिल्मलाई विरलै हेर्न पाइने नेपाली फिल्मका रूपमा व्याख्या गरिन् । उनले फिल्मको सिनेमाटोग्राफी, कलाकारको अभिनय र कथावस्तुको प्रशंसा गर्दै नेपाली परिवेशकै एउटा फरक विषयलाई पर्दामा उतारिएको बताइन् ।
अभिनेता नाजिर हुसेनले फिल्मलाई नेपाली फिल्ममा दर्शकले खोजिरहेको अतिरिक्त स्वाद दिने फिल्मका रूपमा चित्रण गरे । अभिनेत्री कविता नेपालीले फिल्मको सबैभन्दा प्रशंसनीय पक्ष हिमाली क्षेत्रमा गरिएको छायांकन र त्यसका लागि टिमले गरेको मेहनत रहेको बताइन् ।
सन् १९९० को परिवेशमा आधारित फिल्मले सुरक्षा अभावका कारण यार्सागुम्बा टिप्न जाने व्यक्तिमाथि हुने लुटपाट र त्यससँग जोडिएका घटनालाई प्रस्तुत गरेको छ । समुद्री सतहबाट करिब ४ हजार ८०० फिटमाथि छायांकन गरिएको फिल्ममा रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवन र निर्भरतालाई पनि देखाइएको छ ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन। मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतको अभिनय छ ।
धीराज राजवंशीको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा दीपेन्द गौचन र धीराज राजवंशीले तयार पारेका हुन् । मीनबहादुर भाम निर्माता रहेको फिल्ममा सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन् ।







