काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले पहिलो नेपाली फिल्म ‘आमा’मा अभिनय गर्ने तीन अभिनेत्रीलाई सम्मान गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाली फिल्मको इतिहास, त्यसको प्रारम्भिक चरणमा कलाकारले निर्वाह गरेको भूमिका तथा फिल्मका गीत–संगीतको योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रममै विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकामा समेटिएका नेपाली फिल्मका गीत सम्बन्धी सामग्रीको विमोचनसमेत गरिएको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी र महासचिव सुनिल कटुवालले खादा, माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा ‘शारदा’ पत्रिकाका सम्पादक विमल भौकाजीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा ‘आमा’ की अभिनेत्री वसुन्धरा भुसालले नेपाली फिल्मको प्रारम्भिक समयको अनुभव स्मरण गर्दै फिल्म क्षेत्रमा आफूहरूले भोगेका संघर्ष र अनुभवबारे बताएकी थिइन् । नेपालमै निर्माण भएको पहिलो कथानक फिल्म ‘आमा’ सन् १९६४ अक्टोबर ७ अर्थात् असोज १५ गते प्रदर्शन भएको थियो । यही ऐतिहासिक दिनको स्मरण गर्दै असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाउने निर्णय गरिएको हो ।






