१२ गाउँ २ लाई सय भन्दा बढी शो

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको फिल्मले सुरुवाती चरणमा देशभर १ सय ४ शो पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा २३ शो उपलब्ध गराएको छ भने मोफसलमा २२ शो दिएको छ । त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले देशभरका आफ्ना आउटलेटमा १६ शो दिएको छ ।

फ्रेन्ड्स सिनेमाज्ले १०, वान सिनेमाज्ले ८ र बिग मुभिजले ३ शो उपलब्ध गराएका छन् । अन्य मल्टिप्लेक्सले भने अहिलेसम्म फिल्मको शो सार्वजनिक गरिसकेका छैनन् । आगामी दिनमा थप शो उपलब्ध हुने सम्भावना रहेकाले फिल्मको प्रदर्शन तालिका अझै बढ्न सक्नेछ ।

फिल्मका वितरक गोविन्द शाहीका अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकको साथ लिनुपर्नेछ ।

फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको छ ।