म मदनकृष्णलाई मदनकृष्णकै सुझाव

काठमाडौं । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन पुरा भएको छ । गत असोज २ गतेबाट काभ्रेको धुलिखेलदेखि फिल्मको छायांकन सुरु भएको थियो ।

पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण आफैँ सेटमा बसेका थिए । उनले प्रत्येक सिनको अवलोकन गर्दै आवश्यक सुझावसमेत दिएका थिए ।

‘उहाँ आफ्नो जीवनीमा बनेको फिल्मको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ । उहाँ फिल्मको काम देखेर सन्तुष्ट पनि हुनुहुन्छ,’ निर्देशक मिलन चाम्सले भने, ‘जसको कथामा फिल्म बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।’ चाम्सका अनुसार दोस्रो चरणको छायांकन दसैँ लगत्तै सुरु हुनेछ ।

फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले र उनकी श्रीमति यशोदाको भूमिकामा केकी अधिकारी छिन् । अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् भने उनको अपोजिटमा वर्षा राउत छिन् ।

यम थापाको कथा र पटकथा रहेको फिल्मले मदनकृष्णको जिन्दगीका सुख, दुःख, जीवन संघर्ष र आरोह–अवरोहलाई देखाउनेछ । फिल्म चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा जेविस र जेविन श्रेष्ठ छन् ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)को डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।

फिल्म काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।