सारथी प्रोमोमा निरुताको वेदना

काठमाडौं । अभिनेत्री निरुता सिंह र उत्तम प्रधानको कमव्याक सहकार्य रहेको फिल्म ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत प्रोमो सार्वजनिक गरिएको हो । फिल्म आगामी मंसीर ११ गते रिलिज हुँदैछ ।

प्रोमोमा निरुतालाई रोइरहेको दुधे बालकलाई काखमा लिइरहेको देख्न सकिन्छ । प्रोमोमा निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले उनको भूमिका गम्भीर रहेको अनुमान लगाउन सकिन्छ ।

फिल्ममा निरुता र उत्तमसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ ।

संकल्प भुजेलले छायांकन गरेको फिल्म म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको हो । सिनेमा किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।

कुमार गजुरेलको निर्देशन रहेको फिल्ममा रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता तथा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता छन् । फिल्मका सह–निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा छन् भने अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।

राजु खतिवडा मुख्य सहायक निर्देशक रहेका फिल्ममा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन् । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।