काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘आ बाट आमा २’को ट्रेलरलाई २४ घण्टामा २५ लाख बढी पटक हेरिएको छ । ओएसआरको युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलर ट्रेण्डिङ २ मा आइपुगेको छ। साथै ४० हजार लाईक र झण्डै तीन हजार कमेन्ट छन् ।
४ मिनेट ५९ सेकेण्ड लामो ट्रेलरमा अभिनेता पल शाहको कामको दर्शकले प्रशंसा गरेका छन् । त्यस्तै साइग्रेस पोखरेल र आमाको भुमिकामा रहेकी विपना थापाको कामलाई पनि उत्तिकै तारिफ गरिएको छ । ट्रेलरमा देखिएका अन्य कलाकारहरु मलिका महत, आकाश श्रेष्ठ, गजिष्ट बिष्टलगायतको कामको पनि दर्शकले बखान गरेका छन् ।
ट्रेलरमा आमा बुबाको सन्तानप्रतिको माया र सन्तानको बुबाआमाप्रतिको माया दर्शाइएको छ । चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मलिका महत र बिपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको अभिनय छ । फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका छन् ।
करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ ।







