काठमाडौं । फिल्म ‘३६ को आँकडा’को प्रेमभावको गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक भएको छ । सवीर श्रेष्ठको निर्देशनमा बनेको फिल्मको गीत घटनस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक गरिएको हो । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत र सत्यराज आचार्य तथा अञ्जु पन्तको स्वर छ ।
रोमान्टिक भावको गीतमा राजु शाहको कोरियोग्राफी छ भने गीतमा रेखा थापा र महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको प्रेमकथालाई देखाइएको छ ।
आगामी मंसिर १७ गतेबाट प्रदर्शन हुने फिल्ममा निरुता सिंह, निशा अधिकारी, सुवर्ण थापा, रमेश चन्द सिडारी, गीत विष्टलगायतको पनि अभिनय छ । यो फिल्ममार्फत निरुता ७ वर्र्षपछि फिल्ममा कमव्याक गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ थियो ।
रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सवीर श्रेष्ठको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, ईश्वर सिङ्केमेनाको छायांकन, बनिष शाह र रामप्रसाद चौधरीको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्ममा रेखा थापाकी आमा सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ निर्माता छन् ।







