काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘सारथी’ले रिलिजको संघारमा शीर्ष गीत सार्वजनिक गरेको छ । गायक बाबुल गिरीको स्वर रहेको यस गीतमा निर्देशक कुमार गजुरेल र बाबुल गिरीकै शब्द रहेको छ । गीतमा संगीत पनि बाबुलले नै भरेका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी फिचर्ड छन् । भिडियोमार्फत फिल्मको कथावस्तु र पात्रहरूको भावनात्मक सम्बन्धलाई केलाउने प्रयास गरिएको छ ।
यसैबीच देशभरका प्रमुख मल्टिप्लेक्स हलमा फिल्मको बुकिङसमेत खुलाइएको छ । प्रारम्भिक चरणमै फिल्मले ५० भन्दा बढी शो प्राप्त गरेको छ । देशका प्रमुख मल्टिप्लेक्स क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, बिग मुभिजलगायतका हलमा फिल्मको बुकिङ खुलाइएको हो ।
फिल्ममार्फत लामो समयपछि निरुता सिंह र उत्तम प्रधान एकै फ्रेममा देखिँदैछन् । म्याग्दीको गुर्जा गाउँको परिवेश र त्यहाँको जीवनकथालाई समेटेर निर्माण गरिएको फिल्मले स्थानीय जनजीवन, मानवीय संवेदना र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् । सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन संकल्प भुजेलले गरेका हुन् । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माताका रूपमा छन् । अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।







