ककाकिकीको एडभान्स बुकिङ खुला

काठमाडौं । भोलिदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली हास्यप्रधान फिल्म ‘ककाकिकी’को एडभान्स बुकिङ खुला भएको छ। देशभरका विभिन्न सिनेमाघरले फिल्मको अग्रिम टिकट बुकिङ सुरु गरेका छन् भने केही हलमा बुकिङ खुल्ने क्रम जारी छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससँगै वान सिनेमाज, आईएनआई सिनेमाजलगायतले एडभान्स बुकिङ खुला गरेका छन्। दर्शकले खल्ती र ईसेवा एपमार्फत अनलाइन टिकट काट्न सक्नेछन्। त्यस्तै, क्युएफएक्सको आधिकारिक वेबसाइटबाट पनि टिकट बुक गर्न सकिनेछ।

गएको मंगलबार काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरबाट फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । फिल्मको प्रस्तुतीकरण र कथाको तारिफ गरिएको थियो ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजता श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

श्रद्धा प्रसाईं र सुमित्रा थापा फिल्मका निर्माता हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन्।