बाकसमा पुस्कर अनुबन्ध

काठमाडौं । प्रदर्शनरत फिल्म ‘अक्षरा’का अभिनेता पुस्कर राउत फिल्म ‘बाकस’मा अनुबन्ध भएका छन् । शनिबार फिल्मका निर्देशक नविन पन्तले अभिनेता राउतलाई फिल्ममा अनुबन्ध गरेका हुन्। निर्देशक पन्तले कथावस्तु अनुसार नै पुस्करलाई फिल्ममा अनुबन्ध गरेको बताउँदै उनको भूमिकाका बारे केही बताउन चाहेनन् ।

पुस्करले यसअघि ‘कम्पन’, ‘एकलव्य’,‘आँधी तुफान’लगायत फिल्ममा अभिनय गरिसकेका छन्।

फिल्म ‘बाकस’मा यसअघि महेश त्रिपाठी, विपना थापा, वर्षा राउत, भोलाराज सापकोटा, सुपला सापकोटाअनुबन्ध भइसकेका छन्। सुजिता चौलागाईंको निर्माण रहने यो फिल्ममा छत्रबहादुर खड्का सहनिर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता छन्।

दीपक शर्मा र सनम पुरुष राईको संगीत रहने यो फिल्ममा गीत तथा शब्द रचना संगीतकार दीपक शर्मा र निर्देशक पन्तको रहने छ। अर्को महिनाबाट छायांकनमा जाने यस फिल्मका मुख्य सहायक निर्देशक मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने छन् ।