बाटुलो जुनको गीतमा कसले चोर्यो अनमोल र प्रिन्सीको मन

काठमाडौं । भुवन केसी निर्देशकिय फिल्म ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर आइतबार सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार अनमोल केसी र प्रिन्सी खतिवडाको अभिनय छ ।
गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ भने भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ ।

पुरानो समयको झल्को दिने गीतमा अनमोल र प्रिन्सीलाई निकै रोमान्टिक भावमा देखाइएको छ । गीतमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैघारी जस्ता छायांकनस्थलले दर्शकलाई पुरानो समयमा फर्काउनेमा निर्माण पक्ष ढुक्क छ ।

फिल्ममा भुवन केसी र गरिमा पन्तको पनि अभिनय छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको यो फिल्म आगामी कार्तिक २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पाश्र्व संगीत र प्रदीप श्रेष्ठको एसोसिएट निर्देशन छ । जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा विवेक थापा सह–निर्माता छन् ।