आ बाट आमा २ मा विपनाको माया कसलाई ?

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘आ बाट आमा २’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट ५९ सेकेण्डको ट्रेलरमा कुकुर र उसको छाउरोमार्फत आमा र छोराछोरीको प्रेमलाई देखाइएको छ । ट्रेलरमा एक घरका छोराप्रति आमा र बाबुको प्रेमलाई दर्शाइएको छ ।

फिल्ममा आमाको भूमिकामा देखिएकी अभिनेत्री विपना थापाले फिल्ममा छोराहरु पल शाह, साइग्रेस पोखरेल र नरेन खड्कामध्ये कसलाई बढी माया गर्छिन् भन्ने कुरा लुकाइएको छ । भलै ट्रेलरमा सबै पात्रहरुलाई उत्तिकै स्थान दिइएको छ ।

ट्रेलरमा अभिनेता प्रदीप रावतले पर्दाकी श्रीमति विपनालाई कति धेरै माया गर्छन् भन्ने कुरा उनको भावुकपनले खुलाएको छ । विपनाले गाउँ छोड्दा प्रदीपको अंगालोमा रोएको दृश्य होस् या आमा खोज्दै पलले अस्पताल चहार्दा र साइग्रेसलाई कुटपिट गरेको दृश्यले पनि आमाप्रति सन्तानको मायालाई देखाइएको छ । ट्रेलरमा पललाई सामान्य र मानसिक रोगीको रुपमा देखाइएको छ ।

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य, रिश्ता गुरुङ, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडालगायतका कलाकारहरूको अभिनय छ ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा चन्द्र पन्तको कथा तथा पटकथा, सन्तोष भट्टको संवाद, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन, एलिस कार्कीको पार्श्व संगीत तथा राजेन्द्र मोक्तानको रंग संयोजन छ ।