कबड्डी ५ ट्रेलरमा दयाहाङको सपना र विपिनसँगको द्वन्द्व

काठमाडौं । आगामी कार्तिक ६ गते रिलिज हुने फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार ललितपुरको लबिम मलमा सार्वजनिक गरिएको हो ।

ट्रेलरमा बेरोजगार काजी दयाहाङ राई, बीके विजय बराल र छन्त्याल बुद्धि तामाङले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेपछि आउने ट्वीस्टलाई प्राथमिकता दिइएको छ । यो ट्वीस्टमा नयाँ मैया सिर्जना गुरुङको प्रवेशसँगै काजीसँग विवाह र मैयाकै कारण साथीहरुबीच आएको दरारलाई देखाइएको छ । ट्रेलरमा गाउँ छिरेको बिपिन कार्कीको रैथाने गुन्डा समूहबीच हुने टक्कर, एक्सन र कमेडी शैलीलाई देखाइएको छ ।

फिल्ममा कलाकारहरू दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

फिल्मको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।