काठमाडौँ। यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’ लाई सेन्सर बोर्डले ‘पीजी’प्रमाणपत्र दिएको छ । प्रमाणपत्र पाएसँगै अब यो फिल्म हेर्नका लागि १६ वर्षभन्दा कम उमेरका दर्शकहरूले आफ्ना अभिभावकलाई साथमा लैजानुपर्ने छ।
चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
फिल्मको ट्रेलरले रिलिज भएको एकै दिनमा ३७ लाखभन्दा बढी भ्युज कमाइसकेको छ भने दसैँ गीत ‘क्या दामी देखिया’ ले ६ दिनमै ४३ लाखभन्दा बढी भ्युज प्राप्त गर्दै दर्शकको अत्यधिक साथ पाएको छ। त्यसैगरी, यसअघि सार्वजनिक भएको गीत ‘अचेल किन कान्छी’ ६४ लाख पटक हेरिइसकेको छ भने फिल्मको टिजरले पनि उस्तै बलियो साथ पाएको छ।
फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद पनि रोशन भट्टकै रहेको छ। नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत तथा गम्भीर बिष्टको नृत्य निर्देशन रहेको यस फिल्मका प्रोडक्सन एक्जिक्युटिभ करण सिंह हुन्। साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ।







