कबड्डी ५ को ट्रेलरका विपिन कार्कीप्रति दर्शकको चासो

काठमाडौं । फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा परेको छ । ट्रेलरले करिब १० लाख बढी भ्युज बटुलिसकेको छ भने २५ हजारभन्दा बढी लाइक र १२ सय बढी प्रतिक्रिया पाएको छ ।

दर्शकहरुले विशेषगरी, विपीन कार्कीको नयाँ अवतार प्रति चासो देखाएका छन् । ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र उनको जीवनमा आउने नयाँ उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन सुरु गरेपछिको अवस्था, सिर्जना गुरुङको नयाँ मैयाका रूपमा प्रवेश, मिरुना मगर अर्थात् शान्ति मिसको झलक र विपीन कार्कीको दमदार इन्ट्री ट्रेलरका प्रमुख आकर्षण बनेको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी कार्तिक ६ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।