काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘पेन्सन पट्टा’ ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताएका छन् । आगामी भदौ २६ गते रिलिज हुने फिल्मको बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली समाजमा लाहुरे परिवारको कथा आफूले नजिकबाट देखेको बताए ।
‘लाहुरेसँग मेरो पारिवारिक सम्बन्ध छैन । तर छिमेक र नेपाली समाजमा लाउरे परिवारका कथा धेरै छन्,’ दयाहाङले भने । उनका अनुसार ३०–४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को आफ्नै महत्व थियो । तर ‘पेन्सन पट्टा’को कथा पेन्सनमै सीमित छैन । हराएको पेन्सन पट्टा खोज्ने घटनासँगै फिल्मले प्रेम, भावना, पारिवारिक सम्बन्ध र सामाजिक संरचनाका तहहरूलाई उधिनेको दयाहाङ बताउँछन् ।
दयाहाङका लागि फिल्ममा काम गर्नु नेपाली समाजलाई अर्को कोणबाट बुझ्ने अवसर पनि बनेको छ । चरित्रमार्फत समाजका विभिन्न मनोविज्ञान बुझ्न पाएको बताउँदै उनले फिल्मलाई सरल तर गहिरो कथाका रूपमा व्याख्या गरे ।
फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाएका छन् । गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धको उतारचढाव र सामाजिक परिवेश फिल्ममा प्रस्तुत गरिएको छ ।
फिल्ममा काम गरेपछि लेखनतर्फ आफ्नो रुचि झन् रहेको दयाहाङले स्वीकारे । तर, तत्काल निर्देशनमा जाने आँट भने नआएको उनले बताए । ‘लेखन मन पर्छ, तर आँट्न सकिरहेको छैन । अहिलेलाई काम नै गरौँ भन्ने लाग्छ,’ उनले भने ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय छ । पोखराको ताङतिङ र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।






