काठमाडौं । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को इन्डक्ल्याप भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले बताईन् । उनका अनुसार फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।
उनले फिल्मको इन्डक्ल्यापमा फिल्मका एक प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । ‘आशा’ मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रुपमा काम गरिरहेका प्राविधिक अर्जुनको श्रीमती ‘ब्लड क्यान्सर’ बाट पिडित रहेको जानकारी पाएपछि पारिश्रमिक बाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी थिइन् ।
फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ ।
‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार गर्दैछौँ’, उनले भने ।
आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।






